एडिलेड ड्रागन स्पोर्टिङ क्लबले आगामी डिसेम्बर महिनामा १०औं ड्रागन कप २०२४ आयोजना गर्न लागेको घोषणा गरेको छ। यो बहुसांस्कृतिक फुटबल प्रतियोगिता ७, ८ र १४ डिसेम्बर मा दक्षिण अष्ट्रेलियाको कालारो रिजर्भ (९१ पीची रोड, डाभोरन पार्क) मा हुनेछ।
प्रतियोगितामा विजेताले $२१०० नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले $९०० नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ। व्यक्तिगत उत्कृष्ट प्रदर्शनका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ। सर्वश्रेष्ठ खेलाडी, सर्वश्रेष्ठ गोलकर्ता र सर्वश्रेष्ठ गोलकिपरले नगद पुरस्कारसहित ट्रफी पाउनेछन्।
यस वर्षको प्रतियोगिताका मुख्य प्रायोजक एसए डिसएबिलिटी केयर रहेका छन्। प्रतियोगितालाई सफल बनाउन गोल्ड प्रायोजक कालिकोटे ज्वेलरी एडिलेड र अन्य विभिन्न स्थानीय व्यवसायहरू तथा संस्थाहरूले समर्थन गरेका छन्।
खेलमा सहभागिता खुला समूह, भेट्रान, महिला र १४ वर्षमुनिका बालबालिकाका लागि छुट्टाछुट्टै समूहमा हुनेछ। महिला र बालबालिकाका लागि सहभागिता शुल्क निःशुल्क राखिएको छ।
भुटानी समुदाय परिषद दक्षिण अष्ट्रेलिया, किरात सांस्कृतिक संघ अष्ट्रेलिया, भुटानी मगर सांस्कृतिक समाज दक्षिण अष्ट्रेलिया लगायतका विभिन्न समुदाय र संस्थाहरूले प्रतियोगितामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।