Sunday, November 24, 2024

इन्ट्रा नेसनल वेलफेयरले भुटानी शरणार्थी शिविरमा सहयोग कार्यक्रम सम्पन्न गर्यो

spot_img

 

झापा, दमक – झापाको दमक नगरपालिका वडा नं. ३ स्थित बेलडाँगी र मोरङको पथरीस्थित भुटानी शरणार्थी शिविरमा इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले ज्येष्ठ नागरिक, अशक्त र असहाय व्यक्तिहरूलाई जीवन निर्वाहका लागि आर्थिक भत्ता वितरण गरेको छ।

फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीको नेतृत्वमा आएको टिमलाई शिविर क्याम्प गेटमा स्थानीय बासिन्दा र विद्यार्थीहरूले फूलमाला, बाजागाजा सहित भव्य स्वागत गरेका थिए। फाउन्डेसनले बेलडाँगी शिविरका २ सय ५१ र पथरी शिविरका ५६ जनालाई मासिक रु पाँच हजारका दरले शुक्रबार भत्ता वितरण गरेको हो।

अध्यक्ष अधिकारीका अनुसार फाउन्डेसनले २०१९ देखि नेपाल सरकारको स्वीकृतिमा भुटानी शरणार्थी शिविरमा रहेका ज्येष्ठ नागरिक, अशक्त र असहायलाई मासिक रूपमा सहयोग गर्दै आएको छ। यस कार्यक्रमको उद्देश्य शिविरभित्र कष्टकर जीवन बिताइरहेका नागरिकलाई केही राहत पुर्‍याउनु रहेको छ।

फाउन्डेसनले पथरी शिविरमा स्वास्थ्य चौकी निर्माण गरिसकेको छ भने बेलडाँगी शिविरका लागि निर्माण प्रक्रिया प्राविधिक समस्याका कारण रोकिएको छ। साथै, स्थानीय विद्यालयहरूमा २७ जना शिक्षकहरू उपलब्ध गराई अङ्ग्रेजी, विज्ञान, र गणितजस्ता विषयको शिक्षणमा सहयोग गर्दै आएको छ। शिक्षकहरूको तलब समेत फाउन्डेसनले व्यहोर्दै आएको छ।

फाउन्डेसनले मोरङको पथरी शनिश्चरे र दमक नगरपालिकालाई एक/एक वटा एम्बुलेन्स पनि प्रदान गरेको छ। शिविरभित्र डे केयरको सुविधा पनि उपलब्ध गराएको फाउन्डेसनले शरणार्थी समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत काम गरिरहेको छ।

कार्यक्रममा फाउन्डेसनका महासचिव गोपाल धिताल, सशस्त्र प्रहरी बलका बरिष्ठ सहायक इन्द्र कोइराला, र अन्य टिम सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन राम बानियाँले गरेका थिए।फाउन्डेसनका अध्यक्ष अधिकारीले आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय