सहकारी प्रकरणमा मुद्दा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन न्यायाधीश समक्ष अपिल गरेका छन्।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा कास्की जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई केही भन्नु छ? भनेर सोधेका थिए। त्यसपछि रवि लामिछानेले आफूलाई तारेखमा छाड्न अनुरोध गरेका हुन्।
इजलासमा सहभागी एक अधिवक्ताले सहकारी पीडितका पक्षमा अफू लागिरहने उल्लेख गर्दै उनले थुनाबाहिरै बसेर मुद्दा लड्ने वातावरण बनाइदिन अनुरोध गरेका बताए।
‘उहाँले थुनाबाहिरै बसेर मुद्दा लड्न पाऊँ, म हरेक पटक तारेखमा आउँदा सहकारी पीडितका विषयमा गरेका रिपोर्टसहित प्रस्तुत हुनेछु भनेर भन्नुभयो’, ती वकिलले भने। उक्त मुद्दामा बहस सकिएकाले थुनछेक आदेश आउनसक्ने बताइएको छ।