शरणार्थी भूटानी नागरिकका न्यायका लागि निरन्तर संघर्षरत, लेखक, समाजसेवी तथा भूतपूर्व भुटानी सेनाका अफिसर एन,बि गिरीको उपचारका क्रममा हिजो काठमाडौंमा असामयिक निधन भएको छ। उहाँको निधनले भूटानी समुदाय मात्र नभई नेपाली भाषी र न्याय प्रेमी सम्पूर्ण समाजलाई स्तब्ध बनाएको छ।
एन,बि गिरी न्याय, सत्य र मानव अधिकारका लागि आफ्नो जीवन समर्पित गर्नुहुने प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनमा भूटानी शरणार्थीहरूका अधिकार, न्याय र पहिचानका लागि अपार योगदान गर्नुभएको छ। उहाँले लेख्नुभएको “जनरव फिराद,” “जस्टिस टु जस्टिस भूटान,” र “जर्नी टु भूटान फर जस्टिस” जस्ता गहन र प्रभावकारी पुस्तकहरू आज पनि भूटानी शरणार्थी मुद्दाका ऐतिहासिक दस्तावेजका रूपमा पढिन्छन्।
उहाँ नेपालीभाषी समुदायका लागि बौद्धिक अभिभावक हुनुहुन्थ्यो। विशेषगरी भूटानी शरणार्थी समस्या समाधानका लागि उहाँको सक्रियता र नेतृत्व सदैव प्रेरणादायी थियो। यसै वर्ष अगस्ट ९ मा उहाँले काठमाडौंमा भूटानी शरणार्थी मुद्दाका विषयमा बुद्धिजीवीहरूको बैठक आयोजना गर्नुभएको थियो। उक्त कार्यक्रममा उहाँले राख्नुभएको विचार र सुझाबले भूटानी मुद्दाको भावी रणनीतिमा महत्त्वपूर्ण प्रभाव पार्न सफल भएको थियो।
उहाँको जन्म भूटानको साम्ची जिल्लास्थित सिब्सु बेलबोटेमा भएको थियो। शाही भुटानी सेनामा जागिर गरिरहनु भएको समयमा नै नेपाली भाषी माथि जातीय सफाया सुरु भए पछि उहाँले तीव्र विरोध गर्नुभएको थियो। यसै कारण उहाँलाई भुटानी सरकारले गिरफ्तार गरेको थियो। कैयौं दिनको यातना पछि उहाँ आफ्नो देश छोड्न बाध्य हुनु भयो र शरणार्थीका रूपमा नेपाल आउनु भयो। तर शरणार्थी जीवन बिताउनुपरेको पीडा र अन्यायका बाबजुद, उहाँले आफ्नो समुदायको लागि न्यायको खोजी गर्न कुनै कसर बाँकी राख्नु भएन।
एन,बि गिरीले भूटानी समुदायका लागि मात्र नभई समग्र मानव अधिकार अभियन्ताका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो। त्यो संवादले उहाँको गहिरो चिन्तनशीलता र न्यायप्रतिको अडानलाई झल्काउँथ्यो। उहाँले सधैं अरूलाई पनि भूटानी शरणार्थी मुद्दाका लागि आफ्नो ठाउँबाट कर्तव्य निर्वाह गर्न प्रोत्साहित गर्नुभयो।
उहाँको पार्थिव शरीर काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा राखिएको छ।उहाँका सुपुत्र विदेशमा रहेका कारण, परिवारले उहाँको उपस्थिति पछि अन्तिम संस्कार गरिने जानकारी गराएको छ।
उहाँको निधनले भूटानी शरणार्थीको न्याय र पहिचानको संघर्षमा एउटा अपूरणीय क्षति पुगेको छ। उहाँले देखाउनुभएको बाटोमा हिंडेर उहाँप्रति सच्चा सम्मान प्रकट गर्न सकिन्छ। तपाईँको अदम्य साहस र योगदानलाई इतिहासले सधैं सम्झिरहनेछ।
एन,बि गिरीप्रति सम्पूर्ण नेपाली भुटानीको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछाै। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। भावपूर्ण श्रद्धाञ्जली!