Sunday, October 6, 2024

सुन तस्करीको नयाँ रुट : गोरखाको उत्तरी नाका

spot_img

गोरखा – तिब्बतसँग सीमा जोडिएको गोरखाको उत्तरी नाकाबाट सुन तस्करी हुने गरेको पुष्टि भएको छ । चुमनुब्री गाउँपालिका छेकम्पारको ङुङ्ला नाका हुँदै चीनबाट नेपालमा सुन भित्रने गरेको खुलेको हो । चुम उपत्यकाबाट ङुङ्ला नाका पुग्न पैदल १० घण्टा हिँड्नु पर्छ । १० किलो सुन सहित दुईजना पक्राउ परेपछि सुन तस्करीको नयाँ रुट पत्ता लागेको हो ।

यो क्षेत्रबाट सुन तस्करी बढेको आशंकासहित सुरक्षा निगरानी बढाइएको थियो । केही महिनाअघि लमजुङको वेँशी शहरमा सुनसहित पक्राउ परेकाहरुले गोरखामा तिब्बतको सीमा नाकाबाट सुन भित्र्याएको बताएका थिए । गोप्य सूचनाका आधारमा प्रहरीले सुरक्षा निगरानी बढाएको थियो ।

यो क्षेत्रमा हेलिकप्टर उडानमा पनि कडाई गरिएको थियो । १० किलो सुनसहित शनिबार पक्राउ परेका दुई ब्यक्तिलाई सदरमुकाममा सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भन्नुभयो, “हेलिकप्टरबाटसमेत सिधै काठमाडौंसम्म सुन तस्करी हुने गरेको सूचनाहरु प्राप्त भएका थिए ।”

प्रशासनले जिल्लाको उत्तरी चुमनुब्री गाउँपालिकामा हुने हेलिकप्टर उडानमा एक महिना यता कडाई गर्दै आएको थियो । “आकस्मिक सेवामा प्रभाव नपर्ने गरी हेलिकप्टर उडानमा कडाई गरिएको छ” प्रजिअ भट्टराईले भन्नुभयो, “सुरक्षा रणनीतिका सबै कुरा बाहिर भन्न मिल्दैन, उत्तरी भेगको हाम्रो सुरक्षा रणनीतिमा फेरबदल भएको छैन ।” हेलिकप्टर उडानमा कडाईसँगै पैदलयात्रीलाई पनि नियमित सुरक्षा जाँच गर्ने गरिएको थियो । “हेलिकप्टरबाट लैजान नसकिने भएपछि दुई व्यक्तिले स्थलमार्गबाट सुन ओसार्ने प्रयास गरेका थिए, जुन हाम्रो सुरक्षा सजगताका कारण सम्भव भएन” पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी विमल बस्नेतले भन्नुभयो ।

शनिबार १० किलो सुनसहित पक्राउ परेका जिल्लाको चुमनुब्री गाउँपालिका ७ छेकम्पारका ५८ वर्षका छिरिङ मुटुप लामा र २८ वर्षका लोप्चन तेन्बेलाई सदरमुकाम ल्याएर थप अनुसन्धान थालिएको हो । बस्नेतले भन्नुभयो, “चीनको जोङ्गा भन्ने स्थानमा च्याङचिन नामका चिनियाँ नागरिकले काठमाडौं पुर्‍याइदिन भनि सुन दिएको उनीहरुले बताएका छन् ।”

उनीहरुलाई चिनियाँ नागरिकले सुन काठमाडौं पुर्‍याएवापत ५० हजार रुपैयाँ दिने बताएको बस्नेतले जानकारी दिनुभयो । प्रहरीले उनीहरुमाथि आजैबाट अनुसन्धान थालेको छ । उनीहरु भरीया मात्रै हुन् वा सुन तस्कर हुन् भन्ने खुल्न बाँकी छ । “उनीहरुबाट सुन तस्करीको अरु सञ्जालसम्म पुग्न सकिने विश्वास छ” प्रजिअ नारायणप्रसाद भट्टराईले भन्नुभयो, “उत्तरी नाकामा थप सुरक्षा सजगता पनि अपनाइने छ ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय