Thursday, November 21, 2024

काभ्रेमा बाढीपहिरो पीडितलाई ‘सिजल एन्ड सिस्टर फाउन्डेसन’को राहत वितरण

spot_img

 

अमेरिकामा रहेर नेपालमा निरन्तर समाजसेवामा सक्रिय भईरहेका समाजसेवी तथा व्यवसायी मेघ सुवेदीले स्थापना गरेको ‘सिजल एन्ड सिस्टर फाउन्डेसन’ले काभ्रेको रोशी गाउँपालिकामा बाढी र पहिरोबाट प्रभावित २५० भन्दा बढी परिवारलाई राहत वितरण गरेको छ। फाउन्डेसनका नेपाल प्रमुख, नायक सञ्जित भण्डारीको नेतृत्वमा ब्लाङ्केट, नगद सहायता, र अन्य आवश्यक सामग्रीहरू वितरण गरिएको थियो। पूर्णरूपमा घरवार गुमाएका परिवारलाई ५ हजार र मानवीय क्षति भएका परिवारलाई १० हजार नगद सहयोग प्रदान गरिएको थियो।

राहत वितरण कार्यक्रममा कलाकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम संयोजन पत्रकार समीर लामाले गरेका थिए। सहभागीहरूमध्ये इन्टरनेसनल वर्ल्ड च्याम्पियन जीवन गिरी, संगीतकार पुष्कर सुनुवार, गायक रूपक खनाल र फोटोग्राफर कुबेर तामाङ लगायत थिए।

स्थानीय वडा कार्यालयसँग समन्वय गरी वडा नम्बर ९, १०, ११ र १२ का प्रभावित परिवारलाई सहयोग पुर्याइएको थियो। यसअघि पनि फाउन्डेसनले जाजरकोट भूकम्प र सिन्धुपाल्चोकको बाढी पीडितहरूलाई ५० लाख बराबरको राहत वितरण गरेको थियो। आपतकालीन अवस्थाहरूमा तत्काल राहत पुर्याउने उद्देश्यले फाउन्डेसनले विभिन्न आपदा, भूकम्प, र कोभिडका कठिन परिस्थितिहरूमा पनि उल्लेखनीय सहयोग गरेको छ।

वडा अध्यक्ष राजन लामाले यो राहत कार्यक्रमबाट धेरै पीडित परिवारहरूले प्रत्यक्ष लाभ पाएको बताएका छन्। फाउन्डेसनले भूटानी शरणार्थी शिविरमा पनि शिक्षा, स्वास्थ्य, र जनचेतनाका लागि वार्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय