Monday, October 7, 2024

युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

spot_img

२६ असार । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप शक्तिशाली हतियार र मिसाइल प्रतिरक्षा प्रणाली सहयोग गर्ने घोषणा गर्नुभएको छ । उत्तर एटलान्टिक सन्धी संगठन नेटोको भेलालाई वासिङटनमा सम्बोधन गर्दै बाइडेनले रुसको क्रुर आक्रमणलाई जवाफ दिनको लागि युक्रेनलाई थप अत्याधुनिक हतियार र प्रतिरक्षा प्रणाली सहयोगको घोषणा गर्नुभएको हो ।

गएको सोमवार रुसले युक्रेनको राजधानी कीभसहितका शहरमा गरेको आक्रमणमा ४१ जना भन्दा धेरैको ज्यान गएपछि अमेरिकासहित नेटोका देशहरुले युक्रेनलाई थप सहयोग गर्ने वाचा गरेका थिए । अमेरिकी राष्ट्रपति बाइडेनले अबको सहयोग प्याकेजमा प्याट्रियट मिसाइल र कम्पोनेन्टसहित हवाई रक्षाका उपकरण समावेश हुने बताउनुभयो ।

जर्मनी, नेदरल्याण्ड, रोमानिया र इटाली लगायतका पाँच वटा देशले यस वर्षको अन्त्यसम्ममा हवाई रक्षा प्रणाली सहयोग गर्न सक्ने बताइसकेका छन् । अमेरिकी अधिकारीहरूकाअनुसार बेलायत, क्यानडा, नर्वे र स्पेन लगायतका अन्य मित्र राष्ट्रहरूले पनि अबको केही महिनामै युक्रेनलाई दर्जनौँ अन्य सामरिक वायु रक्षा प्रणालीहरू प्रदान गर्नेछन् ।

नेटो सम्मेलनमा सम्बोधनका क्रममा सबैजसो देशका नेताहरुले रुसलाई रोक्न नसकेमा युक्रेन मात्रै नभएर पुरै पश्चिमा देशको लागि खतरा नजिकै आइरहेको बताएका रोयटर्सको खबरमा उल्लेख छ ।

नेटोमा ३२ वटा देश सदस्य रहेकोमा युक्रेनलाई पनि सदस्य बनाउने तयारी चलिरहेको छ । तर युक्रेनलाई नेटोमा सहभागि गराउने विषयकै कारण रुसले आक्रमण थालेकाले यो विषय थप जटिलतातर्फ गइरहेको विज्ञहरुले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय