१९ असार, काठमाण्डौ । कोपा अमेरिका फुटबलमा ब्राजील र कोलम्बीया क्वाटरफाइनलमा पुगेका छन् । लेभिस स्टेडिएममा भएको समूह ‘डी’ अन्तर्गत को अन्तिम खेलमा आज बिहान ब्राजील र कोलम्बीया १–१ गोलको बराबरी खेलेसँगै दुवै टिम क्वाटरफाइनलमा पुगेका हुन् ।
ब्राजीलका राफिन्हा र कोलम्बीयाका डेनियल मुनोजले समान एक गोल गरे । कोलम्बीया तीन खेलबाट सात अङ्कसहित समूहको शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुग्यो । समान खेल खेलेको ब्राजील पाँच अङ्कसहित दोश्रो स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।
यसैबीच समूह ‘डी’ कै अर्काे खेलमा कोस्टारिकाले पाराग्वेलाई २–१ गोलले हराएको छ । आज बिहान क्यु टू स्डेडियममा भएको खेलमा कोस्टारिकाले पाराग्वे हराएको हो । कोस्टारिकाका फ्रान्सिस्को क्याल्भो र जोसिमार अल्कोसरले समान एक गोल गरे । पाराग्वे रामोन सोसाले एक गोल फर्काए । दुवै टोली समूह चरणबाटै बाहिरिएका छन् ।
आजको खेलसँगै कोपा अमेरिका २०२४ को क्वाटरफाइनल खेल्ने टिमको टुङ्गो लागेको छ । अब ब्राजीलले उरुग्वे तथा कोलम्बीयाले पानामासँग खेल्नेछ । क्वाटरफाइनलका खेल भोलिदेखि शुरु हुनेछ । पहिलो खेलमा अर्जेन्टिना र इक्वेडर खेल्नेछन् । यस्तै जुलाई ५ तारिखमा कोलम्बीया र पानामा खेल्नेछन् ।