Friday, November 22, 2024

कांग्रेस महासमिति बैठक : अरू दलसँग गठबन्धन गर्ने विषयमा देउवा र गगन थापाबीच विवाद

spot_img

काठमाण्डौ – नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा शुरु भएको छ । बैठकको पार्टी सभापति शेरबहादुर देउवाले उदघाटन गर्नुभयो ।

कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँच जना सहभागी छन् । बैठकमा केन्द्रीय समितिका एक सय ६५ जना, सङ्घीय निर्वाचन क्षेत्रबाट एक हजार सात सय ८० जना, जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, ७७ जिल्लाका सभापतिलगायत सहभागी भएका कांग्रेसले जनाएको छ ।

बैठकमा नीति, साङ्गठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच वटा प्रतिवेदन पेस गर्ने कार्यसूची छ । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गर्नुहुनेछ । यस्तै महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन बैठकमा पेस गर्नुहुनेछ । प्रवक्ता डा। प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन तथा लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।

यसैबीच महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षले महासमिति बैठकमा प्रस्तुत हुने साङ्गठनिक र राजनीतिक प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषयमा जोड दिएका छन् । थापा र कोइरालाले प्रतिवेदनमै यो विषय राख्न खोजे पनि सभापति देउवा पक्षले आवश्यकताका आधारमा जहिले अरू दलसँग गठबन्धन गर्न सकिने भएकाले प्रतिवेदनमा यो विषय राख्न जरुरी नभएको बताएको छ ।

यही विवादले गर्दा महासमितिको बैठक शुरु हुने बेलासम्म पनि कार्यसमितिले प्रतिवेदनलाई अन्तिम रूप दिन सकेको थिएन । यसै विषयलाई लिएर सभापति देउवा र महामन्त्री गगन थापाबीच भनाभन भएको थियो । गगन र शेखर पक्षले गठबन्धनले गर्दा कांग्रेसको नीति र सिद्धान्त मासिँदै गएको आरोप लगाएका छन् । देउवा पक्षले भने देशमा परिवर्तन उल्टाउने शक्ति सलबलाइरहेको अवस्थामा गठबन्धन गर्नु ठिक भएको तर्क गर्दै आएका छन् ।

आजको उद्घाटन समारोहमा सभापति देउवाले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै निर्णय लिइहाल्न नहुने दोहोर्‍याउनुभएको छ । देउवाले जति बेला गठबन्धनको आवश्यकता पर्छ त्यति बेला नै छलफल गरेर उचित निर्णय लिनुपर्ने बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय