चन्द्रौटा (कपिलवस्तु) — शिवराज नगरपालिका–५ मा ४५ वर्षअघि पूर्व–पश्चिम राजमार्ग निर्माण मजदुर बस्थे । उनीहरूले पाल टाँगेर बस्ती बसाएका थिए । ०४० सालपछि झुपडीमा चिया पसल थपिए । वरिपरि केराबारी थियो ।
बस्तीमा दुई/तीन पक्की घर थिए। बाँकी फुस र खरले छाएका थिए। यही ठाउँ पूर्व–पश्चिम चल्ने बस बिसौनी बन्यो।
स्थानीयका अनुसार त्यसबेला दुईवटा चिया पसल थिए। तर, यो मुलुकभित्र र भारत ओहोरदोहोर गर्ने सर्वसाधारणका लागि नाका सहर थियो। सबैतिरका यात्रु भेला हुन थालेपछि यहाँको चहलपहल पनि बढ्यो। पूर्व–पश्चिम, उत्तर–दक्षिण सडक बनेपछि ०५०/५१ देखि पहाडबाट बसाइँसराइ गरी आउने क्रम सुरु भयो। तर, ०५२ मा तत्कालीन माओवादीको विद्रोह सुरु भएपछि यहाँ सन्नाटा छाउन थाल्यो। मुलुकमा सशस्त्र द्वन्द्व चलिरहेका बेला बजार विकास भएन। बसाइँ सर्ने क्रम पनि थामियो। बजार विस्तार रोकियो।
मुलुकमा विस्तृत शान्ति सम्झौता भएपछि चन्द्रौटा बजार फेरि चम्किन थाल्यो। अहिले आसपास जिल्लाबाट बसाइँ सरेर आउनेको ताँती लागेको छ। एक जमानाको बस बिसौनी अहिले जिल्लाकै व्यस्त बजार बनेको छ। यहाँ मिश्रित बस्ती छ। पहाड, भित्री मधेस र तराईका विभिन्न जातजातिको बसोबास छ। अर्घाखाँची, रोल्पा, प्यूठान, पाल्पा, गुल्मी र दाङबाट बसाइँ सरेर आएका छन्। पहाडी, मधेसी, थारु र मुस्लिमबीचको एकता बलियो छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1