टीकापुर । टीकापुर घटना मुद्दाको बहस सकिएपछि जिल्ला अदालत कैलालीले बुधबार फैसला गर्ने तयारी रहेको अदालतका रजिष्ट्रारले जनाएका छन् । दुवै पक्षबाट ६ दिनसम्म चलेको बहस मंगलबार सकिएपछि फैसलाको तयारी भएको हो ।
एक बालक सहित ९ जनाको ज्यान जानेगरी २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा सांसद रेशमलाल चौधरीसहित पुर्पक्षका लागि कारागारमा रहेका अन्य २६ जनाको फैसला हुन लागेको हो।
प्रतिवादीहरुका तर्फबाट अधिवक्ताहरुले बेग्लाबेग्ले बहस गरेका छन्। काठमाडौंबाट आएका वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, पूर्व न्यायधिवक्त हरि फुयाल र अधिवक्ता दिनमणि पोख्रेलले रेशम चौधरीका लागि मात्रै बहस गरेका छन्। यस्तै दिनमणि पोख्रेलले रेशमसहित प्रतिवादीहरु लाहुराम चौधरी र लक्ष्मण थारुका पक्षमासमेत बहस गरेका हुन्।कैलालीका अधिवक्ताहरु गंगाराम पाध्याय, गजेन्द्र केसी, गम्भीरसिंह ऐर, बीरबहादुर जेठारा, नाथुराम महता र जुहारीलाल चौधरीले रेशमसहित सबै २७ जना प्रतिवादीको पक्षमा वहस गरेको अधिवक्ता गंगाराम पाध्यायले बताए। वादीहरुको पक्षमा भने जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेलले बहस गरेका हुन्।