धरान उपमहानगरपालिका–५ साउने टोलकी १७ वर्षीय किशोरीलाई बलात्कार गरेर दुई महिनादेखि फरार रहेका स्थानीय बोर्डिङका प्रिन्सिपल झमक बस्नेतलाई पक्राउ गर्न अनेरास्ववियु र अखिल क्रान्तिकारीले २४ घण्टाको अल्टिमेटम दिँदै सोमबार प्रहरीलाई ज्ञापन पत्र बुझाएको छ ।
गत फागुन २५ गते उनीमाथि स्थानीय झमक बस्नेत(नातामा मामा)ले बलात्कार गरेका थिए । कक्षा ११ मा पढ्दादेखि यौन हिंसा खेप्दै आएकी किशोरीमाथि पटक पटक यौन हिंसा भएपछि गत जेठमा सार्वजनिक गरेकी थिइन ।
घट्ना सार्वजनिक भएसँगै असार ८ गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको थियो । असारमा उजुरी दिए पनि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न सकेको छैन् । बलात्कारीलाई राजनीतिक संरक्षण तोड्न र तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन दबाबका लागि अखिलका अध्यक्ष र्इश्वर पुलामी मगरको संयोजकत्वमा पाँच सदस्य संघर्ष समिति बनाएको छ ।
किशोरी विस्थापित
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उचपारपछि एक साताअघि घर फर्केकी किशोरी घरमा बस्न नमान्दा एक संस्थाको सहयोगमा गत शुक्रबार काठमाडौं पठाइएको किशोरीका बुबाले बताए । उनले भने, ‘घरमै राख्ने सोच थियो, तर घट्नापछि उनी बस्न सकिन मानसिक समस्यामा परिन । त्यसैले काठमाडौं पठाए ।’
धरानका डिएसपी सुमनकुमार तिम्सिनाले पीडकको खोजी जारी रहेको बताएका छन् । भारत गएर लुकेकाले पक्राउ गर्न समस्या भएको उनले बताए ।