Tuesday, December 24, 2024

अमेरिकाको ओहायोमा ग्राण्ड तोला ल्होसार भव्य रूपमा मनाउने।

spot_img

 

ओहायो: अमेरिकाको ओहायोमा यस वर्ष ग्राण्ड तोला ल्होसार २०२४-२०२५ भव्य रूपमा मनाउने भएको छ। यही डिसेम्बर २८ र २९ का दिन कोलम्बस, ओहायोमा हुने कार्यक्रम विभिन्न सांस्कृतिक, धार्मिक, र मनोरञ्जनात्मक गतिविधिसहित सम्पन्न हुनेछ। युनाइटेड गुरुङ बुद्धिस्ट अर्गनाइजेसन अफ अमेरिका (यू,जि,बि,अो,ए) को आयोजनामा र बुद्धिस्ट गुरुङ कम्युनिटी अफ कोलम्बस ओहायो को सहकार्यमा हुने यो कार्यक्रमले गुरुङ समुदायको संस्कृति, कला, परम्परा, र बौद्ध धर्मको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्य राखेको छ।

आयोजक संस्थाका अनुसार ल्होसार गुरुङ समुदायको महान चाड हो, जसलाई उनीहरूले आफ्ना परम्परागत मूल्य र पहिचानलाई कायम राख्दै हर्षोल्लासका साथ मनाउने गरेका छन्। यस वर्षको ल्होसार २६०८ औं तोला ल्होसारका रूपमा मनाउन लागिएको हो। दुई दिनसम्म चल्ने कार्यक्रममा विविध धार्मिक र सांस्कृतिक गतिविधि समेटिएको छ। कार्यक्रमको पहिलो दिन बौद्ध गुरुहरूद्वारा विश्व शान्ति पूजा, प्रवचन, र प्रार्थनाका साथै गुरुङ परम्परागत विधि अनुसार विभिन्न धार्मिक क्रियाकलापहरू हुनेछन्।

कार्यक्रमको दोस्रो दिन भने गुरुङ संस्कार र संस्कृति झल्काउने विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति विशेष आकर्षण रहनेछ। प्रख्यात गायक-कलाकारहरूले गुरुङ समुदायको मौलिक पहिचान झल्काउने लोकगीत, नृत्य, र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नेछन्। यसले गुरुङ समुदायको परम्परा र मौलिकतालाई झल्काउँदै मनोरञ्जनको माध्यमबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ।

आयोजक समितिले यो ऐतिहासिक पर्वलाई सबैको सहयोग र सहभागितामा अझै भव्य बनाउनका लागि ओहायो तथा वरपरका क्षेत्रका सबै नेपाली समुदायलाई निमन्त्रणा गरेको छ। समितिका एक सदस्यका अनुसार, “यो पर्वले हाम्रो संस्कृतिको संरक्षण मात्र होइन, नयाँ पुस्तालाई आफ्नो जरा र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्नेछ। हामी सबैलाई यस कार्यक्रममा उपस्थित भई यो उत्सवलाई सभ्य र भव्य बनाउन अनुरोध गर्दछौं।”

ल्होसार जस्ता पर्वहरूले नेपाली विविधतालाई विश्वभर चिनाउन र यहाँ रहेका नेपालीहरूको पहिचानलाई अझ बलियो बनाउन मद्दत गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय