ह्यारिसबर्ग, पेनसिल्भेनिया: सन् २०२१ मा स्थापना भएको ग्लोबल तेक्वान्दो एकेडेमीले आफ्नो दोस्रो इनर स्कूल च्याम्पियनसिपको औपचारिक घोषणा गरेको छ। यो च्याम्पियनसिप २०२५ जनवरी १८ मा ५६१० डेरी स्ट्रीट, ह्यारिसबर्ग, पिए १७१११ मा आयोजना गरिनेछ।
गत वर्ष पहिलो इनर स्कूल च्याम्पियनसिपको सफलतापछि, एकेडेमीले यसपटकको कार्यक्रमलाई अझ उच्च स्तरमा लैजाने लक्ष्य राखेको छ। यस वर्षको प्रतियोगितामा पेनसिल्भेनिया र ओहायोका ७ विद्यालयका १०० भन्दा बढी सहभागीले भाग लिनेछन्।
कार्यक्रमको अध्यक्षता भर्जिनियाको हर्नडनबाट आउनुभएका ग्रान्डमास्टर एच.के. ली ले गर्नेछन्। प्रतियोगिताको निर्णायक समिति प्रमुखको रूपमा बाल्टिमोर, मेरील्याण्डका मास्टर कुमार कार्की रहनेछन्।
प्रतियोगितामा दुई मुख्य स्पर्धा हुनेछन् – क्योरोगी (ओलम्पिक शैलीको स्प्यारिङ) र पुम्से (परम्परागत फर्महरू)। यी स्पर्धाले खेलाडीहरूको कौशल प्रदर्शन गर्न मात्र नभई उनीहरूको व्यक्तिगत विकास र समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्नेछ।
ग्लोबल तेक्वान्दो एकेडेमीका सीईओ प्रकाश ढुंगानाले मंगलबारको पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्यबारे जानकारी दिदै भने, “यो प्रतियोगिताले सहभागीहरूलाई अनुशासन, आदर, र लगनशीलताको महत्त्व सिकाउँदै तेक्वान्दोको शारीरिक र मानसिक विकासको लक्ष्यलाई अघि बढाउनेछ। यसले खेलाडीहरूलाई स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट आफ्नो सीप विकास गर्न प्रेरित गर्नेछ।”
प्रतियोगिताले वरपरका शहर र राज्यका तेक्वान्दो खेलाडीहरूलाई एकै स्थानमा ल्याई खेलकुद र समुदायको भावना प्रबर्धन गर्ने अपेक्षा गरिएको छ। प्रतियोगिताको तयारी उत्साहपूर्ण रूपमा भइरहेको छ, र यो कार्यक्रमले खेलकुद प्रेमीहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।