अमेरिकामा बसोबास गर्दै आइरहेका समाजसेवी मित्र सुवेदीले अमेरिकी राष्ट्रपतिको तर्फबाट प्रदान गरिने प्रेसिडेन्ट्स लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका छन्। यो अवार्ड उनले समुदायप्रतिको उत्कृष्ट स्वयंसेवा र निःस्वार्थ सेवाका लागि प्राप्त गरेका हुन्।
मित्र सुवेदीले विभिन्न सामाजिक, शैक्षिक, र मानवीय सेवाका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन्। प्रवासी समुदायको हितका लागि उनले देखाएको निष्ठा र समर्पणकै कारण यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
यो अवार्ड अमेरिकामा बसोबास गर्ने व्यक्तिहरूलाई जीवनभर सामाजिक सेवामा दिएको योगदानको कदरस्वरूप प्रदान गरिन्छ। मित्र सुवेदीको सेवाभाव र कार्यले मात्र उनको प्रतिष्ठा बढाएको छैन, भुटानी समुदायको गर्व र पहिचानलाई पनि अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाएको छ।
अवार्ड प्राप्त गरेपछि मित्र सुवेदीले यो सम्मान सम्पूर्ण समुदायको प्रयास र समर्थनको परिणाम भएको बताउँदै आगामी दिनमा पनि आफ्नो सेवाभावलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
यस उपलब्धिको खबरले भुटानी समुदायमा हर्ष र गर्वको वातावरण सिर्जना गरेको छ। विभिन्न संघ-संस्थाले उनलाई बधाई दिँदै उनको सफलताको उच्च प्रशंसा गरेका छन्।