मुम्बई: बलिउड अभिनेता सेफ अली खानमाथि रातको समयमा उनको घरभित्रै आक्रमण भएको छ। बिहीबार बिहान २:३० बजे एक हतियारधारी व्यक्ति घरभित्र प्रवेश गरी सेफ अली खानलाई धारिलो हतियारले आक्रमण गरेको भारतीय मिडियाले जानकारी दिएको छ।
आक्रमणको क्रममा सेफ अली खानको शरीरमा गहिरो चोट लागेको छ। उनलाई तत्कालै मुम्बईस्थित लीलावती अस्पताल पुर्याइएको थियो, जहाँ अहिले उनको उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार उनको अवस्था स्थिर रहेको बताइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले आक्रमणकारी कसरी घरभित्र प्रवेश गर्यो भन्नेबारे खोजी भइरहेको छ। सुरक्षाका लागि सेफ अली खानको घरमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
सेफ अली खानको परिवार र प्रशंसकहरू यो घटनाले स्तब्ध भएका छन्। बलिउडका विभिन्न कलाकारहरूले सामाजिक सञ्जालमार्फत घटनाको निन्दा गर्दै सेफ अली खानको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
प्रहरीले आक्रमणकारीलाई चाँडै नियन्त्रणमा लिने र घटनाको गहिरो छानबिन गर्ने बताएको छ। थप विवरण आउन बाँकी रहेको छ।