Monday, October 7, 2024

सर्वोच्चमा जोशीले स्वागत गरे नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई

spot_img

२६ भदौ, काठमाडौं । रासस –  सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त हुनुभएको छ। संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेलगत्तै उहाँ प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको हो । राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि उहाँले सोमबार साँझ सर्वोच्चमा गएर पदभार ग्रहण गर्नुभयो ।

सर्वोच्चमा उहाँलाई संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले स्वागत गर्नुभयो । संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी बिदामा बस्दै आउनुभएको थियो । तर मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै उहाँ सोमबार सर्वोच्च जानुभएको हो ।

जोशीले उहाँलाई फूलमाला लगाएर प्रधानन्यायाधीशका रुपमा स्वागत गर्नुभयो । जोशीको नाम स्वीकृत भएको भए मिश्र प्रधानन्यायाधीश बन्न पाउनु हुने थिएन । सर्वोच्चको न्यायाधीशकै रुपमा अवकास पाउनुहुन्थ्यो । तर, शैक्षिण प्रमाणपत्र लगायतका विवादका कारण जोशी अस्वीकृत भएपछि मिश्रले चार महिना सर्वोच्चको नेतृत्व गर्ने अवसर पाउनुभएको हो ।

पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारबाहीको दायरामा ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रुपन्देही जिल्ला रायपुरमा २०१० पुस २८ गते  जन्मनुभएका ओमप्रकाश मिश्रले २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गर्नुभएको हो । गएको साउन २० गतेदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम शुरु गर्नुभएका मिश्रले सोमबारदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर पाउनुभएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय