पेन्सिलभेनिया,तिहासिक निर्णयमा, स्वातारा टाउनशिप बोर्ड अफ कमिश्नर्सले हिन्दू चाड दीवाली–तिहारलाई आधिकारिक बिदाको रूपमा मान्यता दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ। पाँचै जना कमिश्नरहरूको समर्थनमा पारित भएको यो प्रस्तावले टाउनशिपका विविध समुदायहरूको लागि महत्वपूर्ण उपलब्धि सावित भएको छ।
बोर्ड बैठकमा नेपाली भाषी समुदायका धेरै नेता सहभागी भई यो ऐतिहासिक निर्णयको साक्षी बने। निर्णयपछि, हैरिस्बर्गको भूटानी समुदायका अध्यक्ष तिलक निरौलाले बोर्डलाई सम्बोधन गर्नुभयो। सम्बोधनमा उहाँले नयाँ बिदाको सांस्कृतिक र सामाजिक महत्वलाई जोड दिनुभयो।
उहाँले सेन्ट्रल पेनसिल्भेनियामा करिब ४७,००० नेपाली भाषीहरूको उपस्थिति रहेको, जसमा स्वातारा टाउनशिपमा मात्रै करिब ५,००० मानिसहरू रहेको तथ्यांक प्रस्तुत गर्नुभयो। उहाँले समुदायको योगदानको चर्चा गर्दै, स्वातारा टाउनशिपमा अवस्थित दुई हिन्दू मन्दिरहरू – ओएचआरसी र श्री वैष्णव परिषद् हैरिस्बर्गको महत्वलाई औंल्याउनुभयो। साथै, डेरी स्ट्रीटमा रहेका करिब ३०% व्यवसायहरू नेपाली भाषी समुदायको स्वामित्वमा रहेको र सेन्ट्रल डौफिन स्कूल जिल्लाका करिब ४९% ईएल विद्यार्थीहरू हाम्रो समुदायबाट भएको उल्लेख गर्नुभयो।
“यो नयाँ बिदा हाम्रो संस्कृति, मूल्य र स्वातारामा पुर्याएको योगदानको शक्तिशाली मान्यता हो,” निरौलाले भन्नुभयो। उहाँले टाउनशिप अधिकारीहरूले देखाएको सम्मान र समावेशी दृष्टिकोणको प्रसंशा गर्नुभयो।
पाँचै जना कमिश्नरहरूले यो प्रस्ताव पास गर्न पाउँदा खुशी व्यक्त गर्दै, स्वातारा टाउनशिपको बहुसांस्कृतिक समुदायलाई सम्मान गर्न गरिएको यस निर्णयमा गर्व व्यक्त गरे। यो नयाँ बिदा स्वाताराको बहुसांस्कृतिक समुदायको मान्यता र उत्सवलाई मनाउन एक महत्वपूर्ण कदम हो।