७ कात्तिक । वेस्ट इन्डिजका बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
वेस्ट इन्डिजका बलर फिलिपलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ । टोलीमा अनुबन्ध भएका २८ वर्षीय एन्डरसन फिलिप तीव्र गतिका बलर हुन् ।
फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए ।
यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डे लीडलाई टोलीमा अनुबन्ध गरिसकेको छ । पोखरा एभेन्जर्समा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को अयोजनामा एनपीएल आउँदो मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ ।