Friday, November 22, 2024

निर्मला हत्या प्रकरण: प्रमाण नष्ट गर्ने प्रहरीलाई कारबाही गर्न सिफारिस

spot_img

भदौ २२- निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार ४३ दिन भएको छ । तर अहिलेसम्म घटनामा संलग्न दोषीको पहिचान हुन सकेको छैन । १३ वर्षीया बालिका निर्मलाको बलात्कार र हत्याको घटनामा प्रहरीले प्रभावकारी रुपमा अनुसन्धान नगरेको आरोप लाग्दै आएको छ ।

प्रहरीले नै घटनामा संलग्न प्रमाणहरु नष्ट गरेको आरोप लगाउँदै स्थानीयबासिन्दाले प्रहरीको अनुसन्धानमा शंका गरेपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित प्रहरी प्रमुखको सरुवा गरेको थियो । साथै घटनाको छानविन तथा थप अनुसन्धानका लागि भदौ ८ गते गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन गरी ५ सदस्यीय टोली कञ्चनपुर पठाएको थियो ।

उच्चस्तरीयले टोलीले प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा शून्यबाट अनुसन्धानल अगाडि बढाएको भने पनि घटनाका प्रमाणहरु फेला पार्न सकेको छैन । प्रहरीले घटनास्थलबाटै प्रमाणहरु नष्ट गरेकाले टोलीले प्रमाणहरु फेला पार्न नसकेको हो ।‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा नै त्रुटी देखिएको छ’, टोलीका एक सदस्यले भने ‘घटनामा प्रमाणहरु मेटाउने काम प्रहरीबाटै सुरु भएको छ ।’

उच्चस्तरीय टोली काठमाडाैं फर्किंदै
निर्मला हत्या प्रकरणको घटनामा प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा थप अनुसन्धान गर्न कञ्चनपुर पुगेको उच्चस्तरीय छानविन समिति शुक्रबार काठमाडौं फर्किदैछ । टोलीले घटनाको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पारेर काठमाडौं फर्किन लागेको हो ।टोलीलाई निर्मलाको बलात्कार र हत्याको घटनामा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको छानविन तथा थप अनुसन्धान गरी प्रतिवेदन तयार पार्न १५ दिनको समय दिइएको थियो ।

भदौ ८ गते महेन्द्रनगर पुगेको टोलीले सर्वदलीय÷सर्वपक्षीय छलफल गरी ९ गतेदेखि आफ्नो काम अगाडि बढाएको थियो । टोलीले सबैको माग बमोजिम शून्यदेखि अनुसन्धान सुरु गरी घटनास्थल, निर्मला गृहकार्य गर्न गएको घरको अनुगमन तथा पीडित परिवारसँग छलफल गरेको थियो ।

यस्तै, निर्मलाको हत्यामा संलग्न भएको हुन सक्ने आशंका गरिएका बम दिदीबहिनी लगायत झण्डै एक सय जनाभन्दा बढीसँग सोधपुछ गरेर त्यसकै प्रतिवेदन तयार पारेको बताइएको छ ।

अनुसन्धानमा खटिएका प्रहरीलाई कारबाहीका लागि सिफारिस
निर्मलाको बलात्कार र हत्याको प्रारम्भिक अनुसन्धानमा नै प्रहरीले प्रमाण नष्ट गर्ने काम गरेकाले उच्चस्तरीय छानविन समितिले अनुसन्धानमा खटिएका प्रहरी अधिकृतसहितका कर्मचारीलाई कारबाहीका लागि सिफारिस गर्ने भएको छ । स्रोतका अनुसार प्रहरीले घटनास्थलबाटै प्रमाणहरु मेट्ने काम गरेकाले छानविन टोलीले प्रारम्भिक अनुसन्धानमा खटिएका प्रहरीहरुलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

टोलीको सिफारिसपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृत सहित झण्डै १८ जना कारबाहीमा पर्ने देखिएका छन् । छानविन समितिले कारबाहीका लागि सिफारिस गरे अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरु थुनिन सक्ने सरकारी वकिलको कार्यालयले जनाएको छ ।अपराध संहितामा कुनै पनि मुद्दालाई बदलिए वा लापरवाही गरियो भने थुन्न सक्ने व्यवस्था रहेको जिल्ला न्यायाधीवक्ता खेमराज भट्टले जानकारी दिनुभयो ।

बम दिदीबहिनीको ५ दिन म्याद थप
निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र वबिता बमलाई फेरि ५ दिनको म्याद थप गरिएको छ ।जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि फेरि ५ दिन म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।

यसअघि पनि अदालतले सोधपुछ र अनुसन्धानका लागि एक हप्ताको म्याद थप गरेको थियो । उनीहरुको बयान लिने काम भइरहेको छ भने अरुलाई अनुसन्धानका लागि थप ५ दिनको म्याद थप गरिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार रोशनी र बबिता दुबै दिदीबहिनीले निर्मलाको बलात्कारपछि हत्याकाण्डको विषयमा आफूहरु अनविज्ञ रहेको बयान दिएका छन् ।

सीआईबीको नयाँ टोली कञ्चनपुरमा
निर्मला पन्तको हत्या अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वको अर्को टोली कञ्चनपुर पठाएको छ । टोलीमा डीएसपी कमल थापासहित अन्य २ जना रहेका छन् ।यसअघि सीआईबीले घटनाको अनुसन्धानका लागि भन्दै डिएपसी अंगुर जिसीको नेतृत्वमा ३ सदस्यीय टोली कञ्चनपुर पठाएको थियो ।

निर्मलाको बलात्कार र हत्याको अभियोगमा जिसी नेतृत्वको टोलीले दिलिप सिंह विष्टलाई पक्राउ गरेपछि कञ्चनपुर प्रहरीसँगै सीआईबीप्रति पनि स्थानीयबासिन्दाले आशंका व्यक्त गरेका थिए । दिलिपलाई मुख्य अभियुक्त बनाइएपछि प्रहरी अनुसन्धान विश्वस्त हुन नसकेको भन्दै कञ्चनपुरमा प्रदर्शन चर्किएको थियो ।

डिएसपीको अनुसन्धान विवादमा तानिएपछि सीआईबीले एसएसपीको नेतृत्वमा टोली कञ्चनपुर पठाएको जनाइएको छ । एसएसपी ज्ञवालीको टोलीले यसअघि सीआईबीले गरेको अनुसन्धानको अध्ययन गर्नेछ ।

यस्तै कञ्चनपुर प्रहरीलाई अनुसन्धानमा सघाउनका लािग संघ र प्रदेशबाट विज्ञहरुको टोली पनि आउने कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले बताउनुभयो ।

एसपीका छोरा र मेयरका भतिजासँग सोधपुछ
निर्मलाको हत्यामा संलग्न भएको भन्ने आशंका गरिएका तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टका भतिजा आशुयमाथि प्रहरीले निगरानी बढाएको छ । प्रहरीले उनीहरुकाबारे सुक्ष्म अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले किरण र आशुयसँग सोधपुछको काम भइरहेको बताउनुभयो ।उनीहरुमाथि विभिन्न कोणबाट अनुसन्धान भइसकेको बताउँदै उहाँले अहिलेसम्म नियन्त्रणमा लिएर अनुसन्धान गर्ने परिस्थिति नदेखिएको बताउनुभयो ।

निर्मलाको घटनाका बेला कञ्चनपुर रहेका किरण बाबुको सरुवापछि उनीसँगै काठमाडौं गएका थिए । उनलाई सोधपुछ र थप अनुसन्धानका लागि कञ्चनपुर झिकाइएको हो ।-UjyaloOnline

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय