Sunday, October 6, 2024

बंगलादेशकाे नागरिक आन्दोलनका कारण आयात–निर्यातमा असर

spot_img

२३ साउन । अरक्षण प्रणालीको खारेजीको माग गर्दै बंगलादेशमा भइरहेको आन्दोलन र त्यसले निम्त्याएको राजनीतिक उत्तारचढावको असर नेपाल–बंगलादेश व्यापारमा देखिएको छ । आन्दोलन सुरु भएदेखि नै नेपाल, भारत र भुटानसँग व्यापार गर्ने बंगलादेशको नाका गलाबन्ध खुल्ने र बन्द हुने क्रम जारी छ ।

आइतबारबाट नेपाल–बंगलादेशबीचको व्यापार ठप्प भएको बंगलादेशको व्यापारमा सहजीकरण गर्दै आएको पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका काँकडभिट्टा कार्यालयका प्रमुख सुवास पाण्डेले बताउनुभयो ।

बंगलादेशसँगको नाका बन्द भएर खुलेपछि नेपालबाट उखुको खुदो बोकेर गएका तीनवटा नेपाली गाडी बंगलाबन्ध नाकामा अड्किएको प्रमुख पाण्डेले बताउनुभयो । यस्तै, नेपाल आउने ६ वटा बंगलादेशी गाडी पनि बंगलाबन्ध नाकामा रोकिएको उहाँले बताउनुभयो । नेपालबाट उखुको खुदो लोड गरेर बंगलादेश हिँडेका ११ वटा गाडी मेची भन्सार कार्यालय काँकडभिट्टामा थन्किएका छन् । व्यापार ठप्प हुँदा उद्योगी–व्यवसायीलाई समस्या भएको उहाँले बताउनुभयो।

नेपाल–बंगलादेशको व्यापार ठप्प हुँदा त्यसको मर्का आयात–निर्यातमा संलग्न व्यवसायीलाई परेको क्लियरिङ एजेन्ट नवीन दाहालले बताउनुभयो ।

नेपालबाट बंगलादेशमा वार्षिक करिब ५० करोडको सामग्री जाने गरेको छ भने बंगलादेशबाट करिब चार अर्बको सामग्री आउने गरेको छ । आर्थिक वर्ष ०८०/८१ को तथ्यांक हेर्ने हो भने नेपालबाट ४६ करोड ३१ लाखबराबरको सामग्री निर्यात भएको छ भने बंगलादेशबाट तीन अर्ब ८३ करोड ६८ लाखबराबरको आयात भएको छ । बंगलादेशबाट ब्याट्री, खाद्यान्न, औषधिलगायत २० प्रकारका सामग्री आयात हुन्छन् भने नेपालबाट जडीबुटी, च्यावनप्रास, मुसुरोको दाललगायत ६ प्रकारका सामग्री निर्यात हुने गरेका छन् ।

बंगलादेशको आन्तरिक कारणले व्यापार ठप्प हुँदा मेची भन्सारको राजस्व असुलीमा पनि प्रभाव परेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय