Monday, October 7, 2024

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार बेचन झाको इन्कार बयान

spot_img

५ साउन, झापा । अनौपचारिक कुरा गर्दा अनुसन्धान अधिकृतहरूसँग दुई करोडको चेक ‘च्यातिदिएँ’ भनेका बेचन झाले औपचारिक बयानमा भने नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूले चेक लिएको कुरा सिधै ‘इन्कार’ गरेका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँग उनले चेक लिएको पनि अस्वीकार गरेका हुन् ।

काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने झा नक्कली भुटानी शरणार्थी प्रकरणमा असार १४ मा पक्राउ परेका थिए ।  वीरगन्ज उपमहानगरपालिका–७ का स्थानीय उनको बुधवार उनको बयान पूरा भएको छ ।

‘मन्त्रिपरिषद्बाट निर्णय गराउँछु’ भनेर उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएको प्रहरी अनुसन्धानले देखाउँछ ।

शरणार्थी प्रकरणमा संलग्न सानु भण्डारी र रामशरण केसीले यसअघि नै सरकारलाई मिलाउन भन्दै झालाई दुई करोडको चेक दिएको बयान दिएका थिए ।  उनलाई चेक दिन सानु भण्डारीले गिरोहका सदस्य रामशरण केसीलाई भनेका थिए । तर, झाले चेक बुझेपनि कुनै निर्णय गराउन सकेनन् ।

अनुसन्धान अधिकृतहरूले उनलाई अडियो सुनाएर त्यसबारे प्रश्न गरेका थिए । शरणार्थी प्रकरण सञ्चार माध्यमबाट थाहा भएको उल्लेख गर्दै बेचनले बयानमा भनेका छन्।

भुटानी शरणार्थी प्रकरणको योजनाकारमध्येका सानु भण्डारीले भनेअनुसार आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका थिए । अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बैंकमा पेस गर्दा हस्ताक्षर नमिलेपछि झाले चेक साट्न सकेनन् । तर प्रहरीले चेक बरामद गर्न सकेको छैन ।

यसअघि पक्राउ परेका रामशरण केसीले बयानमा भनेका थिए, ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषद्बाट भुटानी शरणार्थी सम्बन्धी निर्णय गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयन बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’

रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको बताएका छन् । बयानमा उनले चेक दिएको भिडियो पनि बनाएको बताएका छन्  ।

बेचनले राजधानीको थापागाउँमा ‘विभांशु ब्रदर्श’ नामको कन्स्ट्रक्सन कम्पनी सञ्चालन गरेका छन् । सो कम्पनीमार्फत उनले विद्युतको ठेक्का लिने गरेका थिए । २०५१ देखि उनी ठेक्कापट्टा गर्थे ।

आफू समाजसेवी भएको जिकिर गर्दै उनले प्रहरी अधिकृतहरूसँग नेपालका राजनीतिक दलका नेताहरूसँग चिनजान र सम्पर्क भने रहेको स्विकारेका छन् ।

शरणार्थी प्रकरणमा बालकृष्ण खाँण सहितका उच्च अधिकारीहरू पक्राउ परेपछि उनी फरार भएका थिए ।  झा लामो समय भारतमा लुकेर बसेका थिए । उनकी छोरी भारतमा बस्छिन् ।

उनीविरुद्ध सङ्गठित रूपमा ठगेको कसुरमा म्याद लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । झाको दुई वटा मोबाइल प्रहरीले बरामद गरेको छ । मोबाइलको फरेन्सिक जाँच गरेपछि थप तथ्य खुल्ने अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय