Saturday, October 5, 2024

ऐतिहासिक जीतसहित अफगानिस्तान विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश

spot_img

ऐतिहासिक जीतसहित अफगानिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । विश्वकप क्रिकेटको सुपर आठअन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशलाई डकवर्थ लुइस नियमका आधारमा ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुगेको हो । जीतका लागि १९ ओभरमा १ सय १४ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७ ओभर ५ बलमा १ सय ५ रन बनाउँदा अल आउट भयो । बङ्गलादेशका लिटन दासले नट आउट ५४ रन बनाए । अफगानिस्तानका कप्तान राशिद खान र नवीन उल–हकले समान ४ विकेट लिए । यस्तै फजल फरूकी र गुलबदिन नइबले समान १ विकेट लिए ।

आजको खेलमा अफगानिस्तानका कप्तान राशिदले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १ सय ५० विकेट लिने कीर्तिमान बनाएका छन् । राशिदले न्युजिल्यान्डका टिम साउदीलाई पछि पार्दै ९२ खेलमा १ सय ५२ विकेट लिएका छन् । साउदीले १ सय १७ खेलमा यो उपलब्धि हासिल गरेका थिए । साउदीले अहिलेसम्म १ सय २६ खेलमा १ सय ६४ विकेट लिएका छन् । यस्तै राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै ४ विकेट हल लिने खेलाडी पनि बनेका छन् । उनले आजको खेलमा सहित अहिलेसम्म ९ पटक ४ विकेट हल लिएका छन् । यस्तै बङ्गलादेशका शाकिब अल हसनले ८ र युगान्डाका हेनरी सेसेन्योन्दोले ७ पटक ४ विकेट हल लिएका छन् ।

योसँगै टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । यसअघि भारत, इङ्गल्यान्ड र दक्षिण अफ्रिका अन्तिम चारमा पुगिसकेका छन् । अब अफगानिस्तानले सेमिफाइनलमा पर्सि बिहान सवा छ बजे दक्षिण अफ्रिकासँग खेल्नेछ । यस्तै त्यही दिन बेलुका सवा ८ बजे अर्को सेमिफाइनलमा भारत र इङ्गल्यान्ड खेल्नेछन् ।

अफगानिस्तानले बङ्गलादेशलाई हराएसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय