Sunday, October 6, 2024

झापाको गोलधाप शिविर अहिले पर्यटकीय गन्तव्य बन्दै

spot_img

अस्मिता साँखी
जेठ ०२, बिर्तामोड । कुनै समय भुटानी शरणार्थीको आश्रयस्थल रहेको झापाको गोलधाप शिविर यतिबेला सुन्दर पार्कमा रुपान्तरण भएको छ । भुटानी शणार्थीहरुको बसोबासका कारण बाक्लो बस्ती बनेको शिविर क्षेत्र शरणार्थी तेश्रो देश पुनर्बास कार्यक्रम पछि भने सुनसान बनेको थियो ।

झापाको गोलधापसँगै, खुदुनाबारी र बेलडाँगीमा गरी झण्डै १ लाख शरणार्थी बसोबास गर्थे । सन् १९९१ मा भारत हुँदै नेपाल आएका नेपाली भाषी भुटानी नागरिकहरुको बसोबास स्थल बनेको गोलधाप शिविरलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले पार्क निर्माण गरिएको हो । वि सं २०४८ देखी २०६७ सम्म भुटानी शरणार्थीहरुले आश्रय लिएको शिविरलाई सहिद नेत्र स्मृती उद्यान(पार्क) को रुपमा विकास गरिएको हो ।

बिर्तामोड नगरपालिका–७ मा दुई वर्षअघि निर्माण पार्क सञ्चालनमा नआउँदै झाडीमा परिणत हुदै गएपछि केही समयअघि स्थानीय समुदायले सरसफाइ अभियान सुरुआत गरेका थिए । विभिन्न किसिमका पूर्वाधार निर्माण भए पनि पार्क सञ्चालनमा आउन नसक्दा अधिकांश संरचना काम नलाग्ने अवस्थामा पुगेका थिए । जनप्रतिनिधि र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलमा राजनीतिक दल, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी एवम् स्थानियबासी सरसफाइ कार्यमा जुटेका हुन् ।

आन्तरिक पर्यटक आकर्षित गर्ने, अध्ययन केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दुई वर्षअघि नै बिर्तामोड नगरपालिकाको योजना अन्तर्गत पार्क निर्माण भएको थियो । कोरोना महामारीका कारण सञ्चालनमा कठिनाइ भएपछि हालसम्म पार्क अलपत्र नै रह्यो । सरकारको एक सय एक गन्तव्य सूचीमा सूचीकृत उक्त पार्क सञ्चालनमा ल्याउन सर्वपक्षीय अभियान सुरु गरिएको वडाध्यक्ष अविरल कृष्ण खरेलले बताउनुभयो ।

उक्त स्थानलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सरकारले दुई करोड रुपैँया लगानी गरेको थियो । बाइस बिघा क्षेत्रफलमा फैलिएको शिविरलाई सहिद नेत्र पार्क घोषणा गरिएपछि पर्यटक लोभ्याउन पूर्वाधार संरचना निर्माण गरिएका थिए । सरकारी बजेटबाट चिल्ड्रेन पार्कदेखि स्विमिङ पुलसम्म पहिल्यै निर्माण गरिएको थियो । उक्त पार्कमा निमार्ण भइसकेका संरचना झारले पुरीए पछि बजेटको अभावमा पनी श्रमदानको माध्यमबाट वडाध्यक्षको पहलमा पार्क बनाउने अभीयान सुरु गरिएको हो ।

पार्कमा आकर्षक प्रवेशद्वार र उद्यान समेत बनाइएको छ । भुटानी शरणार्थीहरुको इतिहास र योगदान झल्काउने गरी छुट्टै संग्रालय बनाउने योजना रहेको पनि खरेलको भनाइ छ । हाल पार्कमा चौतारा निर्माणको काम भईरहेको र उक्त स्थानमा रहेको लक्ष्मी नारायण मन्दिर पनि संरक्षण गरिने वडाध्यक्ष खरेलले बताउनुभयो । शरणार्थीहरुको बसोबासका लागी प्रयोग भएका पुराना घर टहराहरु संरक्षण गरेर भुटानीहरुको अस्तित्व बचाउने र मौलिकता झल्किने गरी उक्त सहिद नेत्र पार्क निर्माण भइरहेको बिर्तामाोड नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताउनुभयो ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय