काठमाण्डौ । आउँदो जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट नेपालमा हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा आयोजक नेपालसहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिनुभयो । छनोटमा दक्षिण एसियाली राष्ट्र भारत भने विश्व वरीयाताको शीष आठभित्र रहँदै यसअघि नै छनोट भइसकेको छ ।
प्रतियोगितामा हरेक देशबाट दुई पुरुष र दुई महिला खेलाडीको सहभागिता रहनेछ । यसमध्ये एक पुरुष र एक महिला खेलाडी फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलका लागि छनोट हुनेछन् ।
लैनचौरमा रहेको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छनोट खेलमा नेपालबाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले सहभागिता जनाउनेछन् ।