Saturday, October 5, 2024

हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनल प्रवेश

spot_img

काठमाण्डौ । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हरायो ।

हङकङले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नट आउट २५ र सन्दीप जोराले नट आउट १९ रन बनाए । हङकङका एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भयो । हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अबिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।

यो जितसँगै नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । हङकङ ३ खेलमा १ जितसहित २ अङ्क जोड्दै चौथो स्थानमा छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पर्सि बुधवार खेल्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यस्तै आजै भएको समूह ‘ए’ कै अर्को खेलमा कतारले मलेसियालाई ४ विकेटले हरायो । मलेसिया र कतार ३ खेलमा २ अङ्कसहित तेस्रो र चौथो स्थानमा छन् । त्यस्तै अहिले समूह ‘बी’ अन्तर्गत ओमान र यूएई तथा बहराइन र कुवेत खेलिरहेका छन् ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय