‘ह्युमन राइट्स कन्सर्ट’मा पहिलो चोटि नेपाली भाषालाई प्रतिनिधित्व गर्दै गायक करण राईले आफ्नो साङ्गीतिक प्रस्तुती दिएका छन् । गत डिसेम्बेर १० का दिन ह्युमन राइटसको ७५ औं बार्षिकोत्सवको अवसरमा ‘ह्युमन राइट्स कन्सर्ट’ स्विजरल्यान्डको जेनेभा स्थिति अल हम्ब्रा थिएटरमा सम्पन्न भएको थियो ।
द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता समेत रहेका गायक करण र स्रष्टा प्रकाश आङदेम्बे कार्यक्रममा नेपाली भाषालाई प्रतिनिधित्व गर्दै आमन्त्रित थिए । करण राई भूटानी शरणार्थी शिविर शनिश्चरे मोरङमा जन्मिएर आफ्ना अविभावकहरूसँगै अमेरिका पुनर्वास भएका छन् ।
संसारभरीवाट आएका पाँचसय बढी दर्शक रहेको हलमा ख्यातिप्राप्त कलाकारहरूको उपस्थिति रहको थियो । पाँच पटक ग्रामी अवार्ड बिजेता एन्जेलिका कुडो, ओपेरा गायिका बारबरा हेन्ड्रिक्स, फ्रेन्च ¥यापर एम सि सोलार, ग्वाटेमालाकि गायिका सारा कुरुचिच, प्यालेस्टानी मुलका डच डान्सर अहमेद जौद, युक्रेनी भ्वाइलोनिस्ट यलिजावेथ जाइटसेभा, पियानिस्ट आर्थर ली लगायतका प्रख्यात कलाकारले कार्यक्रममा आफ्नो कला प्रस्तुत गरेका थिए । गायक करण राईले प्रकाश आङदेम्बेको शब्दमा रहेको गीत “ताँती छन् अझ धेरै जिउनलाई रहरहरू” बोलको गीत मंचमा गाएका थिए । गायक राईले नेपाली गीत गाउदाँ पाश्र्वमा चारजना नर्तकहरूले नाचेर उनलाई साथ दिएका थिए भने स्क्रिनमा भिभिन्न रङका लुङधर प्रोजेक्सन गरिएको थियो ।
कार्यक्रम बारे गायक करणले भने “युएनले हामीलाई शरणार्थी अवस्थादेखि नै सहयोग गरेका थियो । आज उनीहरूकै निम्तोमा, उनीहरूले नै आयोजना गरेको कन्सर्टमा मैले गीत गाएर उनीहरूलाई सुनाउन पाउनु मेरो लागि ठूलो अवसर हो । अझ विश्वप्रशिद्द नामुद कलाकारहरूसँग म जस्तो संगीतमा बामे सर्दै गरेको मान्छे सँगै उभिन पाउनु पनि अकल्पनीय उपलब्धी हो ।”
कार्यक्रमका साक्षी साहित्यकार प्रकाश आङदेम्बेले भने “एउटा प्रतिभालाई शरणार्थी शिविरदेखि जेनेभाको यो विश्वस्तरीय मंचसम्म निरन्तर देख्न पाउनु मेरो जीवनको दुर्लभ अवसर हो । जहाँसम्म लाग्छ मलाई थाहा नहुन पनि सक्छ । ह्युमनराइटसका जेनेभामामा हुने आधिकारीक कन्सर्टमा नेपाली गायक र गीत गुन्जिएको सायद पहिलो हो । संगीत, कला र आत्मियता सिमानाभन्दा विशाल हुँदोरहेछ ।”