७ साउन, काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको वर्ष दिन हुन लागेको छ । ०७५ साउन १० गते बलात्कारपछि हत्याको शिकार भएकी ९ कक्षामा पढ्ने बालिका निर्मलाका हत्यारा पत्ता लगाउन सरकारले गरेका ११ महिनाका प्रयास अहिलेसम्म खेर गएका छन् ।
एकातर्फ निर्मलाका हत्यारा पत्ता लगाउनु दूरहपूर्ण बनिरहेको छ भने अर्कोतर्फ गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र बनेको छ ।
गृह मन्त्रालयद्वारा गठित मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए ।
अहिलेसम्मका कुनै पनि प्रतिवेदनले अभियुक्तको किटानी गर्न सकेका छैनन् । न त यी प्रतिवेदनमाथि टेकेर प्रहरीले घटनाको अनुसन्धान नै गर्न सकेको छ । गृहको छानविन प्रतिवेदन एकातिर छ, सरकार र प्रहरीको ध्यान अर्कैतिर मोडिएको छ ।
गृह मन्त्रालयबाट गठित मैनाली समितिको प्रतिवेदनले निर्मला पन्तको बलात्कार एक जना व्यक्तिबाट सम्भावना कम देखिएको र अन्यत्रै हत्या गरेर उखुबारीमा फालिएको हुन सक्ने निश्कर्ष निकालेको थियो ।
घटना भएको १० महिनासम्म निर्मला पन्तका हत्याराबारे प्रहरीमा किटानी जाहेरी परेको छैन । बरु यसवीचमा कञ्चनपुरका पत्रकार खेम भण्डारीविरुद्ध जिल्ला अदालतमा ४ वटा मानहानीका मुद्दा दर्ता भए ।
आखिर निर्मला हत्या प्रकरणबारे यो एक वर्षसम्म अपराधी पत्ता लगाउन असफल बनेको प्रहरी अहिले के गरिरहेको छ ? यसबारे सामान्य चर्चा गरौं ।
के गर्दैछ प्रहरी ?
निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अहिलेसम्म दर्जन बढी टोली कञ्चनपुरमा खटिइसकेका छन् । यसवीचमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमै तीनजना प्रहरी प्रमुख फेरिए । हरेकले नेतृत्वमा आउँदैपिच्छे सिंगो संगठनका लागि टाउको दुखाइको विषय बनेको निर्मला प्रकरण हल गर्ने दाबी गरे । तर, अझै घटनाको गुत्थी सुल्झन सकेको छैन ।
बरु निर्मला प्रकरणको अनुसन्धानका लागि खटिएका प्रहरी उपरीक्षक (एसपी) कुवेरसिंह कडायत र दुर्गासिंह वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को बढुवामै छुटेका छन् ।
हुन त अनुसन्धान टोलीहरुले ठोस निष्कर्ष निकाल्न नसकेपछि अनुसन्धानको सुई पुरानै अभियुक्त दिलिपसिंह विष्टतिरै सोझ्याउने प्रयास पनि प्रहरीको उच्च स्रोतबाट भइरहेको छ । तर, अनुसन्धान अधिकृतहरुले ‘विज्ञानलाई चुनौति दिने’ आँट गर्न सकिरहेका छैनन् । किनभने, डीएनए परीक्षणबाट दिलिपसिंह बिष्ट थुनामुक्त भएको अवस्था छ ।
हालै यस प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा खटिएका एक प्रहरी निरीक्षकले अनलाइनखबरका सम्वाददातासँग सुनाए, ‘दिलिप सिंह नै दोषी हो भने कि त डीएनए मिल्नुपर्याे, होइन भने हेडक्वार्टरले डीएनए परीक्षण नै गलत छ भन्न सक्नुपर्याे ।’
अहिले पनि प्रहरी प्रधान कार्यालयले निर्मला हत्याको घटनालाई विशेष प्राथमिकता दिएर अनुसन्धान गरिरहेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी रामदत्त जोशी उतैतिरका भएकाले प्राविधिक विश्लेषणमा लागि रहेका छन् ।
ब्युरोमा रहुञ्जेल एसपी सुदीप गिरीले पनि निर्मला प्रकरणकै अनुसन्धानमा समय खर्चिए । तर, उनलाई पनि प्रगति हात लागेन । यद्यपि, संकलित तथ्य र प्रमाणलाई निरन्तर अनुसन्धान गरिरहन सहयोग होस् भनेर उनलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको नेतृत्व दिइएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाबाट अनुसन्धानका लागि कञ्चनपुर गएका डीएसपी मनोहर भट्टको पनि इलाका प्रहरी कार्यालय, टीकापुरमा सरुवा गरिएको छ ।
स्रोतका अनुसार हाल महानगरीय आयुक्तको कार्यालय, रानीपोखरीको इन्टलिजेन्स शाखाका एसपी गणेश चन्द कञ्चनपुरमै खटिएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक निरज शाहीले निर्मला प्रकरणको फलोअपका लागि ब्युरोले केही अधिकृत कञ्चनपुरमै खटाएको अनलाइनखबरसँग स्वीकारे ।
‘अनुसन्धान अधिकृत त जिल्ला प्रहरी कार्यालयकै डीएसपी सा’ब हुनुहुन्छ’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) शाहीले भने, ‘तर, प्राविधिक पक्षको अनुसन्धान र विश्लेषणका लागि हाम्रो टोली खटिएको हो ।’
शाहीका अनुसार शंकास्पद देखिएका विषयको निरन्तर निगरानी राख्ने काममा टोली सक्रिय छ ।
प्रहरी प्रमुख सर्वेन्द्र खनालको सचिवालयमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) दीपक थापा पनि निर्मला हत्या प्रकरणलाई प्रहरी मुख्यालयले उच्च प्राथमिकतामा राखेको बताउँछन् । थापाले अनलाइनखबरसँग भने, ‘हामीले विभिन्न विज्ञको सहयोग लिएर पनि अनुसन्धान गरिरहेका छौं ।’
अब गृहमन्त्रालयद्वारा गठित मैनाली नेतृत्वको छानविन समितिले निकालेका निश्कर्षहरु के कस्ता थिए भन्नेबारे चर्चा गरौं–
गृह मन्त्रालयले ०७५ भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको थियो । छानविन समितिका सदस्यहरुमा डीआइजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआइजी बसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश ७ सरकारका उपसचिव वीरेन्द्रबहादुर केसी थिए ।
समितिको म्याद १५ दिन दिइएको थियो, पछि १५ दिन म्याद थपेर समितिले प्रतिवेदन गृहमन्त्रालयलाई बुझायो ।
प्रतिवेदन सार्वजनिक हुनुपूर्व असन्तुष्ट देखिएका वीरेन्द्रबहादुर केसीले प्रतिवेदनमा फरक मत जनाएका थिए । केसीले दिलिप सिंह विष्टलाई चरम यातना दिएर अपराध स्वीकार्न लगाउनेमाथि प्रहरीमाथि मुलुकी अपराध (संहिता) ऐनको दफा ३६ अनुसार कारवाही गर्न मागसमेत गरेका थिए ।
छानविन समितिलाई दिइएका मुख्य तीनवटा कार्यभारमध्ये पहिलो थियो– मृतक निर्मला पन्तको हत्यासम्बन्धी घटनाको विस्तृत छानविन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्ने ।
निर्मला पन्तको शव भेटिइसकेपछि दोषीलाई कारवाही हुनुपर्ने माग गर्दै स्थानीयवासी र पीडित परिवार आन्दोलित भए । नगरपालिका प्रमुख सुरेन्द्र विष्ट शव फेला परेको स्थानमा आउनुपर्ने, पीडितलाई सहानुभूति दिनुपर्ने र अनुसन्धानमा सहयोग गर्नुपर्ने माग भयो । नाराबाजी भयो ।
पीडितहरुले पोष्टमार्टमका लागि शव महाकाली अञ्चल अस्पतालतर्फ लैजाने क्रममा नगरपालिकाको मूल प्रवेशद्वारामा शव केहीबेर राखेर प्रदर्शन गरे ।
साउन १२ र १३ गते अस्पताल परिसर र आसपासमा हत्यारा पत्ता लगाई कारवाही गर्न माग गर्दै विरोध प्रदर्शन भयो । र, साउन १४ गते विरोधकै बावजुद निर्मलाको दाहसंस्कार भयो । यो जति पनि गतिविधि भइरहेको थियो, त्यो प्रहरी प्रशासनले पीडित र स्थानीयवासीहरुलाई आश्वस्त पार्न नसकेकै कारण ‘शान्तिपूर्ण दबाव’ कार्यक्रम भएको थियो भन्ने गृहको प्रतिवेदनले स्वीकारेको छ ।
गृहको प्रतिवेदनको छैठौं पृष्ठमा भनिएको छ, ‘विविध माध्यमबाट शान्तिपूर्ण दबाव दिँदैआएको थियो । त्यस क्रममा स्थानीय हेलेन श्रेष्ठ र मीना भण्डारीको नेतृत्वमा संघर्ष समितिहरु पनि गठन भएका थिए ।’
प्रतिवेदनमा उल्लेखित घटनाक्रम हेर्दा निर्मला हत्या प्रकरणमा स्थानीय प्रहरीको लापरवाही वा कमी कमजोरीलाई स्पष्टसँग देखाइएको छ ।
र, सोही लापरवाहीको कारण देखाउँदै तत्कालीन एसपी डिल्लीराज विष्टसहितका प्रहरी अधिकारीहरुलाई विभागीय कारवाहीको सिफारिस यो छानविन समितिले गृह मन्त्रालयलाई गरेको देखिन्छ ।
प्रतिवेदनको सार : अन्तै बलात्कार गरेर उखुबारीमा लास, एक जनाबाट मुस्किल
निर्मला पन्तको शव भेटिएको उखुबारीमा उखुको एउटा बोट सामान्य भाँचिएको बाहेक झाडी वा पातहरु मडारिएको अवस्था नरहेको छानविन प्रतिवेदनले पनि भनेको छ ।
घटना अन्तै गराएर लास उखुबारीमा फालिएको हुन सक्ने निश्कर्षमा छानविन समिति पुगेको छ । र, यो एकजना व्यक्तिबाट मात्रै सम्भव नभएको छानविन समितिको विश्लेषण छ ।
गृहको प्रतिवेदनमा ‘प्राप्त तथ्यहरुको मूल्यांकन र विश्लेषण’ खण्डमा भनिएको छ, ‘लासलाई पानीमा घोप्टो पारेर फालिएकाले बलात्कारका कुनै पनि दशी प्रमाण लिन नसकिने गरी घटना अन्तै घटाई नियोजितरुपमा उखुबारीमा फालेको जस्तो देखिने । वारदात त्यहीँ घटेको भए मृतकको मुखभित्र माटो, फोक्सोमा पानीको मात्रा हुनुपर्ने ।’
छानविन समितिको प्रतिवेदनमा अगाडि भनिएको छ, ‘मृतकको कापी नभिजेको र मिलाएर राखेको अवस्था तथा जिल्ला प्रहरी कार्यालयमा रहेको उक्त दसीलाई हाल हेर्दा पनि नीलो जेलपेनले लेखेको नोटकापी समेत पानीको कुनै असर नपरेको र रातभरि पानी परेको भन्ने आम नागरिक तथा प्रहरी कर्मचारीहरुसमेतको भनाइले लास उखुबारीमा नियोजित ढंगले ल्याई राखेको अनुमान गर्न सकिने ।’
गृहको प्रतिवेदनमा अगाडि लेखिएको छ, ‘भिडियो फुटेज र सर्वसाधारणको भनाइअनुसार कापीहरु मिलाएर राखेको देखिन्छ, साथै भिजेको पनि देखिँदैन । तर, राति पानी परेको भन्ने प्रहरी, पीडित परिवार र आम नागरिकको भनाइ रहेको ।’
‘प्राप्त तथ्यहरुको मूल्यांकन र विश्लेषण’ खण्डमै अगाडि भनिएको छ, ‘अम्बाको प्लाष्टिक कहीँ कतै नच्यातिएको अवस्थाले गर्दा जबरजस्ती साइकल पल्टाई वालिकालाई लगेको भए वालिकाका कापी मिलाएर राखेको जस्तो र अम्बाको प्लाष्टिक नच्यातिएको अवस्थामा रहन नसक्ने ।’
तर, शव नजिकै अम्बा भेटिएको कुरा प्रहरीको मुचुल्कामा उल्लेख नहुनु र निर्मला पुगेको घरको अम्बाको रुख काटिनुलाई पनि छानविन समितिको प्रतिवेदनले शंकास्पद मानेको छ ।
दिलीप सिंह विष्टबारे प्रतिवेदन के भन्छ ?
कतिपय मानिसहरुले अहिलेसम्म निर्मला पन्तको हत्यामा दिलीप सिंह विष्टको संलग्नता रहेको तर, उनलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेपछि राजनीतिकरण भएकाले उनी फुत्किएको दाबी गर्दै आएका छन् ।
गृहको छानविन प्रतिवेदनलाई आधार मान्ने हो भने दिलीपसिंह विष्टमाथिको दाबीलाई पुष्टि हुन नदिने दुईवटा पाटा छन् – एक– सडक छेउको उखुबारीमा दिउँसै एकजना व्यक्तिबाट निर्मलाको बलात्कार गर्न नसक्ने छानविन समिति बताउँछ । दुई– डीएनए परीक्षणलाई नै अचूक प्रमाण मान्ने हो भने निर्मलाको भजाइनल स्वाबसँग दिलिप सिंह विष्टको डीएनए म्याच नभएको स्थिति छ ।
न्यायको माग गर्दै पीडितको सहभागितामा स्थानीयको आन्दोलन चलिरहेकै बेला पक्राउ परेका भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलिप सिंह विष्टलाई कञ्चनपुर प्रहरीले ०७५ भदौ ४ गते निर्मला पन्त हत्याका अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो ।
प्रदर्शनकारीले विष्ट मानसिक रोगी भएको र उनी दोषी हुन नसक्ने भन्दै प्रहरीविरुद्ध थप आन्दोलन गरेका थिए । तर, आन्दोलन शान्तिपूर्ण अवस्थाबाट हिंसात्मक बाटोतिर मोडियो । त्यही क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर भदौ ८ गते १५ वर्षीय सन्नी खुन्नाको मृत्यु भयो । केही प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत घाइते भए ।
दिलिपसिंह विष्टबारे गृहको प्रतिवेदनले भन्छ, ‘मानसिक सन्तुलन ठीक नभएको भनिएका विष्ट दोषी हुन नसक्ने भन्दै असन्तुष्ट स्थानीय व्यापारी व्यवसायीहरुसमेत स्वस्फूर्तरुपमा आन्दोलित भएका थिए ।’
गृहको छाननिव प्रतिवेदनमा यो पनि दाबी गरिएको छ, ‘दिउँसोको समय मान्छेको आवत–जावत भइरहने सडक नजिकै एउटा व्यक्तिबाट आकस्मिकरुपमा बाटोमै समाती जबरजस्ती करणी गर्न असम्भव देखिने । लास भेटिएको स्थलमा पानी र हिलो माटोका कारण जोरजुलुम गरी शारीरिक सम्पर्क गर्न मिल्ने अवस्था नरहेको । झाडी माडिएको हुनुपर्ने, त्यो पनि नभएको ।’
तथापि सीआइबीका डीएसपी अंगुर जीसीले उपलब्ध गराएको कागजमा भने दिलिपसिंह बिष्टले उखुबारीमा बलात्कारपछि भोकल कर्ड थिचेर मारेको हुँ भन्ने व्यहोरा उल्लेख गरेको गृहको प्रतिवेदनमा छ ।
दिलिपसिंह विष्ट दोषी देखिने गरी कञ्चनपुर प्रहरी र सीआइबीको टोलीले गरेको अनुसन्धानमाथि गृहको छानविन प्रतिवेदनले विभिन्न प्रश्न उठाएको छ । जस्तो– लास जाँच मुचुल्कामा निर्मलाकी आमाको सहीछाप नगराइएको, बरामदी सामानको मुचुल्का र घटनास्थल प्रकृति मुचुल्का नमिलेको र मुचुल्का सच्याउन प्रहरीले पत्राचार गरेको जस्ता विषयमाथि छानविन प्रतिवेदनमा विश्लेषण गरिएको छ ।
निर्मला हराएकै दिन राति अबेरसम्म प्रहरीलाई हारगुहार गर्दा पनि सुनुवाइ नभएको भीमदत्त नगरपालिका वडा सदस्य रविन्द्र तिवारीले वयान दिएका छन् ।
गृहको छानविन समितिलाई निर्मलाका पिताले दिएको वयानमा दिलिपसिंहको कपडाका टुक्रा र कण्डम घटनास्थलमा भेटिएको भन्दै प्रहरीले उनीविरुद्ध किटानी जाहेरी दिन पटक–पटक धम्की दिएको उल्लेख छ । आफूलाई शव उठाउन पनि दबाव दिइएको निर्मलाका पिताले गृहको समितिलाई वयान दिएका छन् ।
यो प्रकरणको अनुसन्धानका क्रममा ७० भन्दा बढीलाई सोधपुछ गरिएको, तर कुकुर प्रयोग नगरिएको, भदौ ४ गतेको बरामदी मुचुल्का र साउन ११ गतेको घटनास्थल प्रकृति मुचुल्कामा फरक– फरक सामानको विवरण उल्लेख भएको । भदौ ४ गते सीआइबीको टोलीले नासपाती किनेर खाएको र कपडाका टुक्रा लिएर गएको वयानलाई पनि प्रतिवेदनमा समेटिएको छ । अम्बाको रुख काटिएको जस्ता कुराहरुलाई पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
०७५ साउन ११ गते महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठको नेतृत्वमा तीनजना डाक्टरको टोलीले निर्मलाको पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमको रिपोर्टले घाँटी थिची हत्या गरिएको र अगाडिपट्टि किलकिलेको हड्डी भाँचिएको बताएको छ । साथै यौनाङ्गको हाइमेनका आधारमा हत्यापूर्व बलात्कार भएको डाक्टरी रिपोर्टले देखाएको छ ।
निर्मला पन्तको यौनाङ्गमा वीर्य नभेटिएको तर स्वाव संकलन गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको उल्लेख छ । निर्मलाको स्वाबसँग दिलिपसिंह विष्टको डीएनए म्याच गराउँदा म्याच नभएपछि त्यही रिर्पोटका आधारमा बिष्ट छुटेको अवस्था छ ।
त्यसो त यसवीचमा निर्मलाको भजाइनल स्वाबबाट निकालिएको डीएनएमाथि प्रश्न उठेपछि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पुनः परीक्षणका लागि विदेश पठाउने तयारी पनि गरिएको थियो । तर, पर्याप्त नमूना नभएको भन्दै परीक्षणका लागि अस्वीकार गरिएको थियो ।
डीएनए विज्ञले चाहिँ अब भारतबाट वैज्ञानिक बोलाएर समेत पुनः परीक्षण गरेर विवाद निर्क्योल गर्न सकिने दाबी गर्दै आएका छन् ।
बम दिदीबहिनीबारे गृहको प्रतिवेदन के भन्छ ?
निर्मला पन्त जुन घरमा होमवर्क गर्न गएपछि हराएकी थिइन्, त्यो घरमा बस्दै आएका दिदीबहिनीका बारेमा पनि गृहको छानविन प्रतिवेदनले बोलेको छ । गृहको छानविन समितिलाई निर्मलाकी आमा र छरछिमेकीहरुले निर्मलाका साथीहरुबारे के वयान दिएकी थिइन्, त्यो पनि गृहको प्रतिवेदनमा रेकर्ड छ ।
यो पनि पढ्नुहोससुरक्षा माग्दै काठमाडौं आए बम दिदीबहिनी
बम दिदीबहिनीको हकमा छानविन समितिको प्रतिवेदनको २० औं पृष्ठमा उल्लेखित ‘बुझिन आएको तथ्य’ यस्तो छ– ‘मृतक वालिका निर्मला पन्त साउन १० गते बम दिदीबहिनीको घरबाट हराएको हुँदा निज दिदी बहिनीलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्ने पीडित पक्ष र धेरैजसो स्थानीयको माग रहेको तर उनीहरुलाई प्रहरीले केही दिनसम्म दिउँसो जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछ गर्ने र बेलुकी घर पठाउने गरेको बुझिन आएको ।’ (पृष्ठ २०)
भाग ४ अन्तरगत निश्कर्ष र सुझावमा वम दिदीबहिनीका हकमा पनि प्रतिवेदनले धेरै ठाउँमा बोलेको छ ।
बम दिदीवहिनीका घरमा रहेको अम्बाको बोट काटिएको विषयलाई प्रतिवेदनले ‘शंकास्पद’ रुपमा अथ्र्याएको छ । गृहको प्रतिवेदनले अझै अगाडि बढेर बम दिदीबहिनीका पिताले ट्युसन सेन्टरमा पुगेर गरेको कुरालाई पनि शंकाको दायरामा राखेको छ । प्रतिवेदनले अम्बाको बोट काटिएकोमा प्रश्न उठाए पनि घरमा नयाँ रंगरोगन गरिएको चाहिँ नपाइएको स्पष्ट पारेको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘उल्लेखित घरमा नयाँ रंगरोगन पनि गरिएको भन्ने विषय व्यापक चर्चामा आएको, सोही घरभित्र गई हेर्दा त्यस्तो रंगरोगन गरिएको देखिन आएन ।’ (पृष्ठ ३१)
विष्टको चर्चा
सरकारी छानविन प्रतिवेदनको पृष्ठ ३७ को ३८ औं नम्बर बुँदाले एसपी डिल्लीराज विष्टका छोराका बारेमा पनि बोलेको छ ।
किरणराज विष्टले मेयरका छोरा वा बम दिदीबहिनीहरुसँग आफ्नो कुनै चिनापर्ची नभएको समितिलाई वयान दिएका छन् । बम दिदीबहिनीका सन्दर्भमा उनीहरुसँग आफ्नो चिनजान नभएको र उनीहरुको घरमा आफू जाने नगरेको किरणराज विष्टको वयानमा उल्लेख छ । विष्टले छानविन समितिलाई दिएको वयानमा भनेका छन्, ‘म निर्मला पन्तलाई चिन्दिनँ ।… नगरप्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट, रोशनी बम र बबिता बमलाई म चिन्दिनँ ।’ (पृष्ठ १२)
गृहमन्त्रालयको प्रतिवेदनले भने उनको कतिपय वयानलाई ‘शंकास्पद’ भनेको छ । (हेर्नुहोस् प्रतिवेदन पृष्ठ २७, बुँदा नम्बर ३८)
गृहको छानविन प्रतिवेदनले कसैलाई दोषी किटान गरेको छैन । तर, छानविनको दायरालाई अझै फराकिलो बनाउनुपर्ने भनेकोे छ ।
छानविन समितिको सुझावमा भनिएको छ– ‘वालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाको अनुसन्धान गर्न विषयगत विज्ञहरुसमेत सम्मिलित विशेष अनुसन्धान टोली गठन गरी अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्ने ।’
अनुसन्धानको प्राविधिक अप्ठ्यारो
निर्मला हत्या प्रकरण अहिलेसम्म किन सुल्झिन सकेन ? अनुसन्धानका लागि कञ्चनपुर पुगेको हरेक टोलीको निष्कर्ष एउटै छ, ‘अपराधस्थलमा प्राविधिक पक्षको प्रयोग शून्य छ ।’
अनुसन्धान अधिकृतले निर्मलाको हत्या भएको अपराधस्थल आसपास सक्रिय सैयौं मोबाइल नम्बरको सीडीआर (कल डिटेल रेकर्ड) निकालेर विश्लेषण गरिसकेको छ । घटना अघिपछिको समयमा गरिएको सीडीआर विश्लेषणबाट पनि महत्वपूर्ण सुराक हात नलागेपछि बीटीएस टावरमा जोडिएका नम्बरको पनि विश्लेषण गरिएको थियो ।
यो पनि पढ्नुहोसनिलम्बित एसपी विष्ट भन्छन्- ममाथि कोतपर्व भयो
सीआईबीका एक अधिकृत भन्छन्, ‘अपराधस्थलमा दुईवटा टावरको सिग्नल टिप्ने गरेकाले केही समस्या भएको थियो । तर, दुवैबाट हजार बढी नम्बर निकालेर हेर्दा पनि उपलब्धी भएन ।’
दुवै प्रविधिबाट केही उपलब्धी नभएपछि प्रहरी अपराधस्थलमा मोबाइल वा अन्य विद्युतीय सामग्रीको प्रयोग नभएको निष्कर्षमा पुगेको छ ।
मृतक बालिका निर्मला पन्तले पनि मोबाइल बोक्ने गरेकी थिइनन् । बचेको एउटा मात्र प्रमाण डीएनएबाट पनि अपराधी फेला नपरेपछि अनुसन्धान अधिकृतहरु अलमलमा छन् । त्यसैले अहिलेको प्रहरी अनुसन्धान ‘ह्युमन इन्टलिजेन्स’मा मात्र सीमित बन्न पुगेको छ ।
राष्ट्रि मानव अधिकार आयोगले सरकारलाई गरेको सिफारिसमा पनि अब ‘ह्युमन इन्टलिजेन्स’मा आधारित रहेर अनुसन्धान अगाडि बढाउन भनिएको छ ।
यो पनि पढ्नुहोसनिर्मलाको ‘स्वाब’ ले उब्जाएको प्रश्नः ‘डीएनए रिभ्यु’ गर्ने कि स्वेच्छिक आह्वान ?
अनुसन्धानमा परेको अर्को पछिल्लो गाँठो कहाँनेर छ भने नेपाल प्रहरीको नेतृत्व, गृहमन्त्रालय र सरकारी अधिकारहरुको नजर फेरि पनि दिलिपसिंह विष्टतिरै सोझिएको छ ।
एकातिर गृह मन्त्रालयको छानविन प्रतिवेदनले निर्मला पन्तको बलात्कार र हत्या उखुबारीमा एकजना व्यक्तिबाट हुन नसक्ने बताएको छ, अर्कोतर्फ यो घटना दिलिपसिंह विष्टबाटै भएको सिद्ध गराउने उपायको खोजीमा यतिबेला गृहमन्त्रालयकै नेतृत्व लागि परेको देखिन्छ ।
यसअघि अनुसन्धानमा खटिएर कारवाहीमा परेका प्रहरी अधिकृतहरु पनि दिलिपसिंह विष्टमाथि नै शंकाको सुई घुमाइरहेका छन् । तर, यसका लागि निर्मला पन्तको भजाइनल स्वाब र यसअघिको डीएनए रिपोर्ट मुख्य बाधक बनेको छ । बरामती सामानको मुचुल्कामाथि पनि गृहको छानविनले प्रश्न उठाइदिएको छ, जसले दिलिपसिंह विष्टतिर फर्कन प्रहरीलाई सजिलोचाहिँ छैन ।
यद्यपि राष्ट्रिय मानव अधिकार आयोगले गरेको निश्कर्षले चाहिँ निर्मला पन्तको हत्या एकैजना व्यक्तिबाट भएको हुन सक्ने विश्लेषण गरेको छ । र, भजाइनल स्वाब संकलन एवं डीएनए परीक्षणको विश्वसनीयतामाथि पनि आयोगले आशंका गरेको अवस्था छ ।
तर, यो प्रकरणमा अपराधीको पहिचान ‘साबितिका आधारमा होइन, सबुतका आधारमा’ गरिनुपर्ने भन्दै आयोगले ‘ह्युमन इन्टलिजेन्स’को माध्यमबाट अगाडि बढ्न सरकारलाई निर्देशन दिएको अवस्था छ ।
तत्कालीन डीआइजी धीरु बस्न्यात नेतृत्वको छानविन समितिले चाहिँ हत्याराको विषयमा भन्दा बढी कञ्चनपुर प्रहरीले गरेको लापरवाहीको विषयमा आन्तरिक अध्ययन गरेको थियो । र, उसैको सुझावका आधारमा सरकारले एसपी डिल्लीराज विष्ट लगायतलाई विभागीय कारवाही गरेको थियो ।
कतिपयले यसवीचमा नजिकै रहेको सेनाको ब्यारेकतर्फ पनि मधुरो स्वरमा औंल्याउने नगरेका होइनन् । तर, सुरक्षा निकायको उच्च स्रोतले अनलाइनखबरलाई दिएको जानकारीअनुसार यसवीचमा सेनाले प्रहरीको अनुसन्धानलाई राम्रैसित सहयोग गरेको थियो । र, करिब दुई दर्जन सैनिकहरुको पनि डीएनए जाँच गरिएको थियो ।
निर्मला पन्तको हत्या भएको वर्ष दिन बित्दै गर्दा केही गम्भीर प्रश्न थाती छन्– प्रहरीले अब यसअघि आशंका गरिएका व्यक्तिहरुतिरै फर्केर अनुसन्धानलाई साँघुरो एवं मिहीन बनाउँदै लैजाने या नयाँ शिराबाट अनुसन्धानको दायरालाई फराकिलो बनाउने ? अबको अनुसन्धान डीएनएनमा आधारित हुने या ‘ह्युमन इन्टलिजेन्स’ मा ? अनि अबको अनुसन्धान साबितीमा मात्रै निर्भर रहने या सबुतमा ? यी अहिलेका जटिल प्रश्न हुन् । र, यहीँनेर प्रहरीको अनुसन्धान अल्मलिएको छ । Copy ONLINEKHABAR.COM