Sunday, October 6, 2024

‘भाग्य बोक्ने झोला’ पाउँदा कचनकवल गाउँपालिका-६ का विद्यार्थी दंग

spot_img

२१ असोज, कचनकवल । भारतसँग सीमा जोडिएको दक्षिणी गाउँपालिका कचनकवल-६ स्थित दारुल आधारभूत विद्यालयमा अध्ययनरत् सबै विद्यार्थी आर्थिकस्तर अत्यन्तै न्यून भएका परिवारका छन् । यहाँ अध्ययनरत् २ सय १५ विद्यार्थीमा ८५ प्रतिशत मुसलमान र १५ प्रतिशत राजवंशी समुदायका हुन् ।

अधिकांश विद्यार्थी खालीखुट्टा विद्यालय पुग्छन् । किताबका कठिन शब्द उच्चारण गर्न सक्दैनन् । ‘अप्ठ्यारा शब्दलाई राजवंशीमा उल्था गरेर पढाउनुपर्छ’, प्रधानाध्यापक जयसिंह राजवंशीले भने, ‘आर्थिकस्तर नभएका मात्रै यहाँ पढ्छन्, हुनेले त छोराछोरीलाई बोर्डिङमा पढाउँछन् ।’ विद्यालयमा हाल २ स्थायी, १ राहत, २ बाल विकास र १ जना सहयोगी गरी कुल ६ जना शिक्षक तथा कर्मचारी छन् ।

एउटा ठुलो रुखमुनि १४ जना विद्यार्थीलाई राखेर पढाउन सुरु गरेका थिए, प्रधानाध्यापक राजवंशीले । आज सोही विद्यालयको ४ वटा भवन छन् । पानी र बिजुलीको भने अझै समस्या छ । विद्यालयमा आर्थिकस्तर न्यून भएका परिवारका विद्यार्थी अध्ययन गरिरहेको थाहा पाएपछि कचनकवल गाउँपालिका र पहिलो पाइला नेपाल नामक सामाजिक संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयलाई पहिलोपटक सहयोग प्राप्त भएको प्रधानाध्यापक राजवंशीले सुनाए ।

सामाजिक संस्था पहिलो पाइला नेपालले ३६ र कचनकवल गाउँपालिकाले १ सय ७९ जना विद्यार्थीलाई स्कुल ब्याग, कापी, पेन्सिल, पानी पिउने बोतल, टिफिन बक्स लगायत सामग्री वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर-३ का सांसद् राजेन्द्र लिङ्देनले विद्यार्थीलाई यी सामग्री वितरण गरे । पहिलोपटक शैक्षिक सामग्री पाउँदा विद्यार्थी पनि दंग देखिन्थे ।

यहाँका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने योजना पहिलो पाइला नेपालले बनाएको हो । यस सामाजिक संस्थाले विद्यार्थीका लागि ‘भाग्य बोक्ने झोला’ वितरण कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गरिरहेको संस्थाका झापा अध्यक्ष कृष्ण अग्रवालले बताए । पहिलो पाइला नेपाललाई बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेसन तथा द नेक्स्ट एजुकेसन कन्सल्टेन्सीले शैक्षिक सामग्री जुटाउन सहयोग गरेको थियो । ३६ जना विद्यार्थीका लागि आफूले ६५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री जुटाइदिएको कन्सल्टेन्सीका प्रमुख खड्ग ताम्लीले बताए ।

कार्यक्रमबारे थाहा पाएपछि कचनकवल गाउँपालिकाले बाँकी सबै विद्यार्थीका लागि स्कुल ब्याग तथा अन्य शैक्षिक सामग्री जुटाएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष अञ्जारा आलम, उपाध्यक्ष निमसरी राजवंशी लगायतको समेत सहभागिता थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद् लिङ्देनले केही समयभित्रै गाउँपालिकाका सबै विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरिने बताएका छन् । बालबालिकाले शिक्षा पाउन सकेनन् भने गाउँमा बाटो, बिजुली मात्र भएर विकास नहुने उनको भनाइ थियो । ‘यसै वर्षदेखि यस गाउँपालिकाका सबै विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गर्ने हाम्रो तयारी छ’, सांसद् लिङ्देनले भने, ‘एसइइ दिने बेलासम्ममा यहाँका विद्यार्थीले कम्प्युटर चलाउन सक्ने हुनुपर्छ, गरिबका छोराछोरीलाई कम्प्युटर शिक्षा दिने हाम्रो लक्ष्य हो ।’ – बिबेचना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय