१ असोज, मोरङ । काठमाडौमा चरा ठोक्किँदै उडेको सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
काठमाडौं विमानस्थलबाट उड्दै गरेको जहाजमा चरा ठोक्किएक पनि ल्याण्ड नगरी पाइलटले सिधै विराटनगर ल्याएका हुन् । जहाज अवतरण गर्ने बेलामा ठूलो आवाज आएको यात्रुहरुले बताएका छन् । त्यो बेला विराटनगर विमानस्थलका यात्रुहरु आँतिएका थिए ।
चरा दाँया इन्जीनमा ठोक्किएको कारण इन्जीनको पंखामा नै क्षति पुगेको छ । जहाजमा चरा ठोक्किएपछि पंखामा क्षति पुगेकोले जहाज नै उडान गर्न नसक्ने अवस्थामा विराटनगर विमानस्थलमा ल्याण्ड गराइएको सौर्य एयरलाइन्सका विराटनगर स्टेशन प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।
उहाँले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जहाज उडाउन नसकिने बताउनुभयो । जहाजमा चरा ठोक्किएको धेरै समयपछि विराटनगर ल्याण्ड गर्नै लाग्दा कन्ट्रोल टावरले विमानमा खराबी आएको जानकारी गराएपछि मात्र विमान चालकले समस्याको बारेमा जानकारी पाएका थिए ।
विमान २ दिन विराटनगरमा नै ग्राउण्डेड हुने र पूर्ण रुपमा मर्मत भएपछि नियमित उडान गरिने विराटनगर स्टेशन प्रमुख पौडेलले बताउनुभयो । यसअघि पनि चराकै कारण धेरै जहाजहरु दुर्घटनाबाट जोगिएका छन् ।