अमेरिका,
किरात कम्युनिटी अर्गनाइजेसन अफ अमेरिका (KCOA) ले किरात सोसाइटी अफ आयोवा (KSI) को सहकार्यमा अमेरिकाको आयोवा राज्यको डेस मोइन्समा १०औं किरात राष्ट्रिय सम्मेलन २०२५ आयोजना गर्ने भएको छ। यो सम्मेलन जुलाई ४ देखि ६ तारिखसम्म आयोजना हुनेछ। किरात धर्म, संस्कृति, परम्परा, र शैक्षिक क्षेत्रमा योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने यो कार्यक्रम किरात समुदायको लागि विशेष महत्व राख्नेछ।
KCOA ले २०१४ देखि अमेरिकाको विभिन्न राज्यहरूमा वार्षिक सम्मेलन आयोजना गर्दै आएको छ। विगतमा जर्जिया (२०१४), ओहायो (२०१५), टेनेसी (२०१६), टेक्सास (२०१७), युटाह (२०१८), केन्टुकी (२०१९),, र कोलोराडो (२०२४) सिन्सिनाटी (२०२२) पछि, कोलम्बस, ओहायो (२०२३) मा सम्मेलन सम्पन्न भएका थिए। तर, २०२० र २०२१ को सम्मेलन COVID-19 महामारीका कारण रद्द गरिएको थियो।
यसपटक, १०औं राष्ट्रिय सम्मेलन किरात धर्म र संस्कृतिलाई थप सुदृढ गर्न विविध गतिविधिहरूसहित भव्य रूपमा मनाइने भएको छ। पहिलो दिन, जुलाई ४, किरातका राज्य प्रतिनिधिहरू र विज्ञहरूबीच वैचारिक छलफल र KCOA का नयाँ बोर्ड सदस्यहरूको निर्वाचन हुने कार्यक्रम छ।
जुलाई ५ मा, परम्परागत किरात धार्मिक सेवा, खिबेक्वा याक्वा लाधुंगसेमी सेवा, किरात धर्मावलम्बी र ऊपस्थित महानुभावहरूले सम्पन्न गर्नेछन्। साथै, नृत्य र संगीत प्रदर्शनहरू तथा ब्याडमिन्टन, चेस, र भलिबलका अन्तिम प्रतियोगिता पनि आयोजना हुनेछन्।
अन्तिम दिन, जुलाई ६, ग्रान्ड किरात सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। यसमा विभिन्न किरात समुदायका प्रतिभाशाली कलाकारहरूले आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गर्नेछन्। विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिनेछ।
कार्यक्रममा किरात समुदायका प्रतिष्ठित व्यक्तिहरू, राज्य प्रतिनिधिहरू, अन्य धार्मिक भक्तजनहरू, र मिडिया प्रतिनिधिहरूको उपस्थिति रहनेछ। यस पवित्र र बृहत कार्यक्रममा उपस्थित सबैले तागेरा निङ्वा भु माङ, महागुरु फल्गुनन्द, वर्तमान किरात धर्म गुरू आत्मा नन्द लिङ्देन सेईंग र गुरु अामा सॉबा पवित्र हाङमा लिङ्देन ज्युहरूको मावाहावा (आशीर्वाद) प्राप्त हुनेछ।
यो सम्मेलनले अमेरिकामा बसोबास गर्ने सम्पूर्ण किरात समुदायलाई एकत्रित गर्ने लक्ष्य राखेको छ। यसले किरात धर्म, संस्कृति, र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। सम्मेलनलाई भव्य र सफल बनाउन KCOA र KSI को अथक प्रयास रहेको छ। यस कार्यक्रमले किरात समुदायको गौरव थप वृद्धि गर्ने विश्वास गरिएको छ।