अमेरिका, अमर गुरुङ स्मृति गायक पुरस्कार २०२४ बाट सम्मानित गायक अर्जुन रसाइलीको सम्मानमा विशेष अभिनन्दन तथा बधाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अर्जुन रसाइली अमर गुरुङ स्मृति गायन पुरस्कारको इतिहासकै पहिलो सम्मानित व्यक्ति हुनुहुन्छ।
शनिबार बेलुकी ७ देखि ११ बजेसम्म चलेको कार्यक्रममा भुटानी समुदायका अगुवा, साहित्यकार, संगीतकर्मी र स्थानीय कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा डा. नारद पोखरेल उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन विष्णु रामदानले गर्नुभएको थियो भने कार्यक्रमको आयोजनामा लेखक तथा संगीतकार अगम गुरुङको विशेष भूमिका रहेको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा द भ्वाइस किड्स सिजन ३ की विजेता अह्नुया तामाङ, स्थानीय कलाकार जीवन गुरुङ र सोनाम गुरुङले आफ्नो उत्कृष्ट सांगीतिक प्रस्तुति दिएर उपस्थित दर्शकहरूलाई मोहित पारे।
“बधाई अर्जुन” नाम दिइएको यस विशेष कार्यक्रममा एल. बि. सुब्बाले स्वागत मन्तव्य दिनुभएको थियो। त्यसपछि गायक तथा संगीतकार अर्जुन रसाइलीलाई सम्मानपत्र र दोसल्ला ओडाएर औपचारिक अभिनन्दन गरिएको थियो।
कार्यक्रममा सम्मानित गायक रसाइलीले आफ्ना विशेष सांगीतिक प्रस्तुति दिएर दर्शकहरूलाई मन्त्रमुग्ध बनाउनु भयो।
विशिष्ट अतिथिहरूमा गायक मनोज राई, गंगाराम लामेटारे, भुटानी अमेरिकन म्युजिक एसोसिएसनका अध्यक्ष भूपू खेम रिजाल, भुटानी साहित्यकार तथा अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।
यस कार्यक्रमले गायक अर्जुन रसाइलीको संगीत क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको सम्मान गर्दै भुटानी समुदायमा सांगीतिक प्रतिभा र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।