काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्न गरिएको पहल आफ्नो महत्वपूर्ण योगदान रहेको स्मरण गराउनु भएको छ। उहाँले मानवीय दृष्टिकोणले कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीको समस्याको समाधानका लागि तेस्रो मुलुक हस्तान्तरणमा आफ्नो नेतृत्वमा भएको पहललाई उल्लेख गर्दै त्यस क्रममा आफूले आलोचना सामना गर्नुपरेको दुःख व्यक्त गर्नुभयो।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा इन्ट्रा फाउण्डेशनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले भुटानले नेपाली भाषी आफ्ना नागरिकलाई देश निकाला गरेको घटना उल्लेख गर्दै तिनलाई तेस्रो मुलुकमा पुनर्स्थापना गर्ने प्रक्रियामा आफ्नो पहल महत्त्वपूर्ण रहेको बताउनुभयो।
उहाँले तेस्रो मुलुकमा पुनर्स्थापित भुटानी नेपालीहरूले अब दक्ष र सक्षम जनशक्ति बनेको बताउँदै भविष्यमा भुटानले आफैँ उनीहरूलाई फिर्ता बोलाउने दाबी गर्नुभयो। साथै, अझै पनि शिविरमा रहेका शरणार्थीहरूको समस्या समाधानका लागि नेपाल सरकार गम्भीर रहेको उहाँले स्पष्ट पार्नुभयो।
इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शिविरमा रहेका भुटानी शरणार्थीका लागि शिक्षा र खाद्यान्न जस्ता आधारभूत सहयोग प्रदान भइरहेको जानकारी गराउँदै बाँकी रहेका शरणार्थीको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग विशेष आग्रह गर्नुभयो।
भेटका क्रममा इन्ट्रा फाउण्डेशनले “मेरो भ्वाइस युनिभर्स” र “मेरो डान्स युनिभर्स” नामक अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोबारे समेत जानकारी गराएको थियो।
कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान वल, फाउण्डेशनका कार्यकारी निर्देशक चूडामणि भट्टराई, सचिव गोपाल धिताल, बोर्ड सदस्य ओम गुरुङलगायतको उपस्थिति रहेको थियो।