Wednesday, January 22, 2025

बेलडाँगी शिविरमा मनाइयो महागुरू फाल्गुनन्दको जन्म जयन्ती

spot_img

वीरेन मगर
२६ कात्तिक, झापा ।  झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगीमा शिविरबासीले फाल्गुनन्द लिङ्देनको एक सय ४० ओं जन्म जयन्ती मनाइएका छन् । बेलडाँगी शरणार्थी शिविरमा रहेको किँरात माङ्सेलुङ माङ्खिममा आइतबार एक कार्यक्रम गरि किँरात धर्मवलम्बी शरणार्थीहरूले १६ औं राष्ट्रिय विभूति मुहिङ्गुम आङ्सिमाङ फाल्गुनन्द लिङ्देनको जन्म जयन्ती मनाएको हो ।

किराँत धर्म प्रवर्तक एवम् समाज सुधारक महागुरू फाल्गुनन्दको जन्म वि. सं. १९४२ साल कातिक २५ गते भएको थियो ।  उहाँले पूर्वी नेपालको लिम्बुवान माङसेबुङ गाउँपालिका वडा नं. २, साविक इभाङ–५ चुक्चिनाम्बामा बुबा जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनको कोखबाट साइँला छोराको रूपमा सामान्य परिवारमा जन्म लिनु भएको थियो । वि.स २००५ मा देह त्याग गर्नु भएको महागुरु फाल्गुनन्दलाई बि. स. २०६६ साल मङ्सिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

किराँत धर्म, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महागुरुको महत्त्वपूर्ण योगदान रहेको छ । महागुरुले समाज सुधारका लागि नीति निर्माणसमेत गर्नु भएको थियो । वि.स १९८८ साल वैशाख २४ गते जारी गर्नु भएको यश नीति ‘सत्य धर्म मुचुल्का’ मा छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीवहत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक पक्ष समेट्नु भएको छ । समाज सुधारका निम्ति महागुरूले स्थापना गर्नु भएको ‘सत्य धर्म मुचुल्का’ को नीति सबै धर्म, सम्प्रदाय, जाति, समुदाय र समाजका लागि उत्तिकै अनुकरणीय छन् ।

वि. सं. २००५ सालमा महागुरुले देह त्याग गर्नु भएपछि किराँत सङ्घ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउँदै आएका छन् ।

किँरात माङ्सेलुङ माङ्खिम समितिद्वारा आइतबार बेलडाँगीमा आयोजित फाल्गुनन्द जन्म जयन्तीमा शरणार्थी कलाकारहरूले विभिन्न धार्मिक एवम् साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा महागुरू सम्बन्धि साहित्यिक रचना पनि वाचन गरिएको थियो ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय