२९ भदौ । श्रीलङ्काले आउँदो वर्ष २०२५ को फेब्रुअरीसम्ममा चरणबद्ध रूपमा सबै गाडीको आयातमा प्रतिबन्ध हटाउने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेको कार्यालयले विज्ञप्ति निकालेर अर्थतन्त्रलाई सामान्य अवस्थामा फर्काउने प्रयासको एक हिस्साका रूपमा गाडीको आयातमा प्रतिबन्ध हटाउन लागेको जानकारी दिएको भारतीय अनलाइन पत्रिका ‘द प्रिन्ट’ ले जनाएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को विस्तारित कोष सुविधा (ईएपएफ) कार्यक्रमसँग जोडिएको आर्थिक सुधार रणनीतिअनुसार आउँदो अक्टोबर १ देखि तीन वटा चरणमा प्रतिबन्ध हटाइने छ ।
तीव्र आर्थिक सङ्कटको समयमा देशको विदेशी मुद्रा सञ्चितिलाई जोगाउन लगाएको चार वर्षको ‘कडा आयात प्रतिबन्ध’ पछि गाडीको आयातलाई अनुमति दिने मन्त्रिपरिषद्ले स्वीकृति दिएको खबरमा उल्लेख छ । विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार र रुपैयाँको सुदृढतासँगै मन्त्रिपरिषद्ले आउँदो वर्षको फेब्रुअरीसम्ममा गाडी आयातमा लागेका सबै प्रतिबन्ध हटाउने निर्णय गरेको विदेशमन्त्री अली साब्रीले जानकारी दिनुभएको छ ।
कोभिड–१९ सङ्क्रमणसँगै श्रीलङ्काले विदेशी मुद्रा सञ्चिति जोगाउन आयात प्रतिबन्ध लगाएको छ । त्यसपछि घट्दो वैदेशिक सञ्चितिलाई श्रीलङ्काले औषधि, इनधन र खाद्यान्न जस्ता अत्यावश्यक आयातका लागि खर्च गर्दै आएको थियो ।