Saturday, October 5, 2024

आज बंगलादेशसँग भिड्दै, नेपालका लागि ‘गर या मर’को अवस्था

spot_img

२३ भदौ, काठमाडौं । साफ च्याम्पियनसिपको समूहगत चरणको अन्तिम खेलमा नेपालले शनिबार आयोजक बंगलादेशको सामना गर्दै छ। ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपालका लागि ‘गर या मर’को अवस्थामा हुनेछ।

समूहगत चरणका दुई खेलमध्ये दुवै खेलमा जित हात पार्दै शीर्ष स्थानमा रहेको बंगलादेश अघिल्लो चरण पुग्ने लगभग निश्चितजस्तै छ। पहिलो खेलमा भुटानलाई २-० गोलले पराजित गरेको बंगलादेश शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानलाई १-० गोलले पराजित गर्दै ६ अंकका साथ शीर्ष स्थानमा छ।

दुई खेलमध्ये एकएक खेलमा पराजय बेहोरेको नेपाल र पाकिस्तान दोस्रो र तेस्रो स्थानमा छन्। दुवै टोलीको तीन तीन अंक भए पनि गोल भिन्नतामा नेपाल अगाडि छ। त्यसैले शनिबार हुने खेलमा नेपालसँग जितको विकल्प छैन। पुराना र युवा खेलाडीको सम्मि श्रण रहेको नेपाली टोलीले यसपालि सुखद नतिजा दिने अपेक्षा गरिएको छ।

पाकिस्तानले अन्तिम खेलमा कमजोर प्रतिद्वन्द्वी भुटानको सामना गर्ने भएकाले पनि नेपाल थप दबाबमा छ। पाकिस्तानले भुटानलाई पराजित गरेमा उसको ६ अंक हुनेछ। नेपालले घरेलु टोलीसँग बराबरी खेलेमा या हार बेहोरेमा भने समूहगत चरणबाटै घर फर्किन बाध्य हुनुपर्नेछ। त्यसैले नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले घरेलु टोलीविरुद्ध जितकै रणनीति बनाएको हुनुपर्छ। समूह ‘ए’को समीकरणअनुसार शनिबार भुटानले पाकिस्तान र बंगलादेशले नेपाललाई पराजित गरेमा भने नेपालले गोलभिन्नताका आधारमा सेमिफाइनलमा स्थान बनाउन सक्ने अवस्था छ।

बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले पराजित भएको थियो। बिहीबार भएको खेलमा भने उत्कृष्ट प्रदर्शन गर्दै भुटानलाई ४-० गोलले पराजित गर्दै तीन अंक जोडेको थियो। जितसँगै नेपालले भुटानसँगको अपराजित यात्रा कायमै राखेको छ। सन् १९८४ मा भएको सार्कस्तरीय फुटबल प्रतियोगितादेखि भुटानसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले अहिलेसम्म भुटानलाई हराइरहेको छ। नेपालले भुटानसँग यस च्याम्पियनसिपमा पनि जितलाई निरन्तरता दिँदै अपराजित खेल संख्या १३ बनाएको छ।

सन् १९९३ मा सार्क गोल्ड कपको नाममा सुरु भएको साफ च्याम्पियनसिप फुटबलको यो १२औं संस्करण हो। च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट माथि पुग्न सकेको छैन। सन् १९९३ मा भएको च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो। साफ च्याम्पियनसिपमा भारत सर्वाधिक सफल टोली हो। भारतले १२ मध्ये सात संस्करण जितेको छ। भारतपछि बंगलादेश, माल्दिभ्स र श्रीलंकाले एकएकपटक उपाधि जितेका छन्। च्याम्पियनसिपमा नेपालसँगै पाकिस्तान र भुटान पनि उपाधिविहीन छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय