Sunday, October 6, 2024

अस्ट्रेलियामा ‘ड्युटी’ समयपछि कर्मचारीले फोन, ईमेलको जवाफ दिनैपर्ने बाध्यता हट्यो

spot_img

१० भदौ । अस्ट्रेलियामा ‘राइट टु डिस्कनेक्ट’ अर्थात् सम्पर्कमा रहिरहन नपर्ने नियम लागू भएको छ । यो नियमले कार्यालय समयपछि रोजगारदाताबाट आउने फोन उठाउन र सन्देशहरू पढ्न बाध्य महसुस गर्ने कर्मचारीहरूलाई राहत प्रदान गर्ने बीबीसीले जनाएको छ ।

यो नियमअनुसार कर्मचारीहरूले कार्यालय समयपछि आउने ईमेल–सन्देश पढ्न या जवाफ दिन नचाहेमा कारबाहीको भागिदार नहुने खबरमा उल्लेख छ ।

गएको वर्ष प्रकाशित एक सर्वेक्षणले अस्ट्रेलियालीहरूले वार्षिक औसत दुई सय ८१ घण्टा बेतलबी ‘ओभरटाइम’ अर्थात् निर्धारित समयभन्दा बढी काम गरेका अनुमान गरेको छ ।

मुख्यतया युरोप र ल्याटिन अमेरिकाका २० वटाभन्दा बढी देशमा समान नियम छ । यो नियमअनुसार रोजगारदाता र कर्मचारीले आपसमा विवाद समाधान गर्ने प्रयास गर्नुपर्छ । यदि समाधान खोज्न असफल भएमा अस्ट्रेलियाको फेयर वर्क कमिसन (एफडब्ल्यूसी) ले कदम चाल्न सक्ने खबरमा उल्लेख छ । एफडब्ल्यूसीले रोजगारदातालाई काम सकिएपछि कर्मचारीलाई सम्पर्क नगर्न आदेश दिन सक्छ ।

यो नियमले कामसँग सम्बन्धित ईमेल, सन्देश र फोनमार्फत आफ्नो निजी जीवनमा हुने निरन्तर हस्तक्षेपविरुद्ध आवाज उठाउन विश्वास दिलाएको कर्मचारीहरूको भनाइ छ ।

यस वर्षको शुरूमा संसद्बाट पारित हुँदा यो ऐनले रोजगारदाता समूहको विरोधको सामना गर्नुपरेको थियो । आलोचकहरूका अनुसार कानूनमा धेरै कमजोरीहरू छन् र कानून हतारमा ल्याइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय