Sunday, October 6, 2024

इजरायलले नयाँ सर्त राखेपछि वार्ताबाट पछि हट्याे हमास

spot_img

१० भदौ । युद्धविराम सम्झौताका लागि इजरायलले राखेका ‘नयाँ शर्तहरू’ आफुहरूलाई अमान्य भएको भन्दै हमासको प्रतिनिधिमण्डल वार्ताबाट पछि हटेको छ ।

जुलाई २ मा अमेरिकाद्वारा प्रस्तावित र संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट अनुमोदित प्रस्तावमा मात्र वार्ता गर्न सकिने भन्दै वार्ताका लागि इजिप्टको कायरोमा रहेको हमासको प्रतिनिधिमण्डल बाहिरिएको सिएनएनले जनाएको छ । वार्ताका लागि मध्यस्थकर्तासँग भेट गरेपछि हमास प्रतिनिधिमण्डल आइतबार कायरोबाट प्रस्थान गरेको हो ।

गाजा युद्धको एक पक्षको प्रतिनिधित्व गरेको हमासको प्रतिनिधिमण्डलले वार्तास्थल छोडेपछि युद्ध अन्त्य गर्ने अमेरिकालगायतका मध्यस्तकर्ताको युद्धविराम सफलताको सम्भावनामा थप जटिलता आएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको खाका र सुरक्षा परिषद्को प्रस्तावको आधारमा गरिएको जुलाई २ को सम्झौतामा मात्र सहमत हुनसक्ने हमासको राजनीतिक ब्युरोका सदस्य इज्जात अल–रिस्कले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अल–रिस्कले सम्झौतामा स्थायी युद्धविराम, गाजा पट्टीबाट पूर्ण रूपमा सेना फिर्ता, बासिन्दालाई आफ्नो क्षेत्र फर्कने स्वतन्त्रता, राहत तथा पुनर्निर्माणलगायतका विषय समावेश हुनुपर्नेमा जोड दिए ।

गत हप्ता हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले अल अक्सा टिभीसँगको कुराकानीमा इजरायलले सम्झौता स्वीकार्नका लागि नयाँ शर्तहरू तय गरेको र पहिलेका कुरा फिर्ता लिएको भन्दै नयाँ शर्त आफ्नो समूहका लागि मान्य नहुने बताएका थिए।

हमदानका अनुसार नयाँ शर्तहरूमा इजिप्टसँगको सिमानामा रहेको पट्टी फिलाडेल्फी करिडोरमा इजरायली सेनाको पुनःस्थापना र इजिप्टसँगको रफाह सीमापारका लागि गैर–प्यालेस्टिनी व्यवस्थापनसमेत समावेश थियो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘नयाँ मागहरू’ थपी वार्ताको प्रगतिको बाधक बनेको हमासको दावी छ ।

यसैबीच नेतान्याहूले सम्झौता भए पनि हमासविरुद्धको ‘पूर्ण विजय’ नभएसम्म गाजामा युद्ध जारी रहनेमा जोड दिएका छन् । हमासले गत वर्ष अक्टोबरमा इजरायलमा एक्कासी गरेको आक्रमणमा कम्तीमा एक हजार २०० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाएको थियो ।

बदलामा इजरायलले शुरू गरेको सैन्य कारबाहीमा ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

यसैबीच, हमासनिकट समूहविरूद्धको कारबाहीस्वरूप इजरायलले शुरू गरेको अभियानमा लेबनानका ४० भन्दा बढी प्रक्षेपण क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । आइतबार इजरायली सेनाले आफ्नो लडाकू विमानले उत्तरी र मध्य इजरायललाई लक्षित गरी हिजबुल्लाह समूहले पठाएका हजारौं रकेट लन्चरलाई लेबनानको दक्षिणी सिमानामा आक्रमण गरेको जनाएको थियो ।

तीमध्ये अधिकांश उत्तरी इजरायलतर्फ लक्षित थिए भने केही मध्य इजरायलतर्फ लक्षित थिए । हिजबुल्लाह समूहको आक्रमणपछि शनिबार इजरायलले लेबनानसँगको बढ्दो तनावबीच ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय