Sunday, October 6, 2024

इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध हुने जोखिम

spot_img

१३ साउन ।  इजरायली कब्जामा रहेको सिरियाको भूमि गोलान हाइट्समा भएको आक्रमणमा परेर १२ जनाको ज्यान गएपछि इजरायलले लेबनानको विद्रोही समूह हिजबुल्लाहका अखडामा बमबारी शुरु गरेको छ ।

हिजो गोलान हाइट्सको एक फुटबल मैदानमा भएको आक्रमणमा बालबालिकासहित १२ जनाको ज्यान गएको थियो । यो आक्रमणमा लेबनानको विद्रोही सङ्गठन हिजबुल्लाह दोषी रहेको भन्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको थियो ।

आज बिहानैदेखि इजरायलले हिजबुल्लाहका अखडामा लडाकु विमानबाट बम र मिसाइल प्रहार गरिरहेको छ । हिजबुल्लाहले कुनै पनि संलग्नतालाई कडा रूपमा अस्वीकार गरेको छ । बढ्दो तनावले इजरायल र हिजबुल्लाहबीच ठूलो युद्ध शुरू हुने सम्भावना छ । हिजबुल्लाहलाई सहयोग गरिरहेको इरानले यदि इजरायलले इजबुल्लाहमाथि दमन गरेमा चुप लागेर नबस्ने चेतावनी दिएको छ । यसले गर्दा इरान र इजरायलबीच पनि द्वन्द्व बढ्ने डर छ ।

लेबनानको विद्रोही समूह हिजबुल्लाहले इजरायलविरुद्ध बेलाबेलामा आक्रमण गर्दै आएको छ । बेलाबेलामा छिटफुट लडाइँ भए पनि हिजबुल्लाह र इजरायलबीच पूर्ण क्षमताको युद्ध भएमा मध्यपूर्व नै द्वन्द्वमा फस्ने जोखिम बढेको छ ।

संयुक्त राष्ट्रसङ्घले एक विज्ञप्ति निकालेर सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका दूत टोर वेनेस्ल्यान्डले घटनाको निन्दा गर्दै विश्वले अर्को युद्धको सामना गर्न नसक्ने भएकाले संयम हुन आग्रह गर्नुभएको हो । लेबनान सरकारले पनि नागरिकविरुद्धका सबै हिंसा र आक्रमणको निन्दा गरेको छ ।

सिरियाको भूमिमा पर्ने गोलान हाइट्सलाई इजरायलले कब्जामा लिएर बस्ती बसालेको छ । सन् १९८१ मा सिरियाबाट यो क्षेत्र कब्जा गर्दा गोलनमा बस्नेहरूलाई इजरायली नागरिकता प्रदान गरिएको थियो तर सबैले स्वीकार गरेका थिएनन् । त्यहाँ २५ हजार जनाको हाराहारीमा द्रुज समुदायका मानिस बस्छन् । गोलान हाइट्स कब्जा गरेर आफ्नो भूमि बनाउने इजरायलको कदमलाई विश्वका धेरैजसो देशले मान्यता दिएका छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय