दैलेखको जलजलेमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि केही दिन पहिलेबाट सुरु भएको ड्रिलिङ अब चार महिनाभित्र सम्पन्न हुने र त्यसले त्यहाँ कति पेट्रोल रहेको छ भन्ने पत्ता लगाउने बताइएको छ ।
उक्त स्थानबाट पेट्रोलियम पदार्थ व्यावसायिक रूपमा उत्खनन गर्न सकिने या नसकिने निष्कर्ष पनि सँगसँगै निकालिने अधिकारीहरूले बताएका छन् ।
चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्वेले भौगर्भिक अध्ययन सम्पन्न गरेपछि चीनकै सीएनपीसी सीबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले दुई देशबीचको सम्झौता अनुसार सो ड्रिलिङ अघि बढाएको हो ।
दैलेखसहित नेपालको तराई र सिवालिक क्षेत्रमा १० वटा सम्भावित पेट्रोलियम उत्खनन गर्न सकिने ब्लक निर्धारण गरिएको छ जसको क्षेत्रफल प्रतिब्लक करिब ५ हजार वर्ग किलोमिटर रहेको विवरण आएका छन् ।
करिब २ साताअघि खानी तथा भूगर्भ विभागले चितवन र लुम्बिनी क्षेत्रमा अवस्थित दुईवटा ब्लकमा पेट्रोलियमको अन्वेषणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय कम्पनीहरूलाई लक्षित गर्दै बोलपत्र आह्वान गरेको छ ।
दैलेखमा कसरी भइरहेको छ ड्रिलिङ?
खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइटेलले दक्ष र अदक्ष गरी झन्डै ७० जनाले ‘दिनरात’ काम गरिरहेको बताए।
उनी भन्छन्, “चौबिसै घण्टा आलोपालोमा अहिले काम भइरहेको छ। नेपाल र चीन सरकारबीचको सम्झौता अनुसार चिनियाँ सहयोगमा यो काम भइरहेको छ ।”
उनका अनुसार दैलेखमा जारी अन्तिम चरणको ड्रिलिङका दुईवटा मुख्य उद्देश्य छन् ।
उनले भने, “भैरवी गाउँपालिका वडा नम्बर १ को जलजले भन्ने ठाउँमा हामीले काम गरिरहेका छौँ। करिब ४५ रोपनीको क्षेत्रफलमा कम्पाउन्ड लगाएर ड्रिलिङ गरिरहेका छौँ। यसबाट नै अर्को ठाउँमा पनि त्यस्तै ड्रिलिङ गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने कुरा पनि निर्क्योल हुनेछ ।”
उनका अनुसार दैलेखमा आगोको ज्वाला बाहिर निस्किरहेको र जमिनमुनिबाट पेट्रोलियम निस्किरहेको ठाउँबाट करिब ३ किलोमिटर पर उक्त काम भइरहेको छ ।
अधिकारीहरूले अहिले भइरहेको कामलाई अन्वेषणात्मक प्रक्रियाको अन्तिम चरणको काम भनेका छन्।
सूचना अधिकारी लुइटेलले थपे, “अघिल्लो भौगर्भिक अध्ययनहरूले पेट्रोलियम हुनसक्ने ठाउँ ३ देखि ४ किलोमिटर भित्र हुन सक्ने देखाएका छन्। ड्रिलिङ गर्ने क्रममा त्योभन्दा केही तल वा माथि पनि त्यो फेला पर्न सक्छ। अहिलेको अध्ययनको उद्देश्य परिमाण कति हुनसक्छ र त्यसको उत्खनन व्यावसायिक रूपमा कति सम्भव छ भनेर अहिलेको ड्रिलिङले परिणाम दिने हो ।”
किन दैलेख नै रोजियो?
दैलेखमा देखिएका पेट्रोलियम पदार्थका अवशेषहरूको सन् १९६० को दशकमा प्रारम्भिक विश्लेषण गरिएको थियो भने विस्तृत जिओकेमिकल अध्ययन सन् १९९३ मा गरिएको थियो।
पादुकास्थान मन्दिरमा फेला परेको चुहावटमा उच्च गुणस्तरसहितको कच्चा तेलको अंश फेला परेको जनाइएको छ।
सन् २०१६ को मार्चमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दैलेखसहितका स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने सहमति भएको थियो।
चीनले उक्त परियोजनाका लागि सन् २०१७ मा नेपाल सरकारलाई २ अर्ब ५५ करोड रुपियाँ उपलब्ध गराएको थियो ।
कोभिड-१९ महामारीका कारण उक्त काम स्थगित भएको भए पनि विक्रम संवत् २०७९ सालको असारबाट चिनियाँ प्राविधिकहरूले पुन: काम थालेका थिए।
खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी लुइटेलका अनुसार हाल ड्रिलिङ भइरहेको क्षेत्र गोन्डवाना कालको चट्टान भएको ठाउँ हो।
उनले भने, “यो पूर्वदेखि पश्चिमसम्म नै फैलिएको छ। तर दैलेखमा नै गर्नुको आधार भनेको पेट्रोलियम जुन बाहिर देखियो, मन्दिरहरूको ज्वालामा पनि देखियो त्यो भएर पनि हो। जमिनमा पनि प्रमाण देखिसकेकाले बलियो सम्भावना छ भनेर हामीले यसलाई रोजेको हो।”
प्राविधिकहरूले के गर्दैछन्?
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले ड्रिलिङले त्यहाँ कति मात्रामा तेल छ या छैन भन्ने निर्धारण गर्ने बताए।
उनले भने, “त्यहाँ तेलको परिमाण र गुणस्तर पुष्टि भयो भने हामीले तेलको कुवा खनेर त्यसलाई प्रवर्द्धन गर्नुपर्छ। अहिलेको ड्रिलिङपछि के कस्तो निचोड निस्किन्छ त्यसपछि हामी अरू पूर्वतयारी गर्छौँ ।”
दैलेखमा जारी अन्तिम चरणको अन्वेषण अन्तर्गत जमिनको माथिल्लो भागमा ड्रिलिङ सम्पन्न भएको छ। चट्टानको भागको ड्रिलिङ चलिरहेको छ ।
ड्रिल गर्दै प्वाललाई सफा गर्दै त्यसलाई चारतिरबाट एउटा ‘फलामको कन्डक्टर केसिङ्ग’का मद्दतले ढाक्नुपर्ने प्राविधिकहरू बताउँछन् ।
उनीहरूका अनुसार ड्रिलिङ गर्दा जमिनको सबैभन्दा माथिल्लो भागमा ६६ सेन्टिमिटरको प्वाल बनाइएको थियो। त्यो तल्लो विन्दुमा पुग्दै जाँदा आधाभन्दा बढीले घट्ने भनिएको छ ।
लुइटेलले भने, “शुक्रवार बिहानसम्म १५१ मिटरसम्म ड्रिलिङको काम भइसकेको छ। जमिनको करिब २४ मिटरमुनि चट्टान भेटिएको थियो। त्योभन्दा माथि ग्राभेल र माटो छ । ५३ मिटरमा हामीले केसिङ राखेका छौँ। अब ३०० मिटरसम्म ड्रिलिङ गरिसकेपछि फेरि त्यस्तै केसिङ गर्छौँ। अनि खन्ने शृङ्खला जारी रहन्छ ।”
उनका अनुसार अहिलेको अन्तिम चरणको अन्वेषणमा ४ किलोमिटर ड्रिलिङ गर्ने लक्ष्य राखिएको छ ।
विगतमा यसरी गरिएको थियो ड्रिलिङ
अहिले चीन जोडिएर पश्चिम नेपालमा पेट्रोलियम अन्वेषणका लागि ड्रिलिङ भइरहँदा कतिपयले सन् १९८० को दशकको अन्त्यतिर पूर्वी नेपालमा भएको पहिलो पेट्रोलियम अन्वेषणको चर्चा गरिरहेका छन् ।
सन् १९८५ मा बोलपत्र आह्वान गरिएपछि नेदरल्यान्डको शेल एक्सप्लोरेशन विभै र अमेरिकाको टाइटन इनर्जी कर्पोरेशनले अन्वेषण खण्ड नम्बर १० विराटनगरका लागि बोलपत्र पेस गरेका थिए ।
पछि ती दुवै कम्पनीको संयुक्त लगानीबाट त्यस क्षेत्रको विस्तृत साईस्मिक सर्वेक्षणसाथै मोरङको बाहुनी राधानगरमा ३,५२० मिटर ड्रिलिङ गरिएको थियो ।
उक्त ड्रिलिङबाट बनेका प्वालमा हाइड्रोकार्बनका सङ्केतहरू फेला नपरेको भए पनि ती तथ्याङ्कहरू पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धनका लागि उपयोगी हुनसक्ने बताइएको थियो ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेका नेपालमा कुल १० वटा ब्लकमा तेल पाउने सम्भावना देखिएको छ र पछिल्लो पटक विभागले लुम्बिनी र चितवनमा पनि विदेशी कम्पनीहरूलाई काम गर्न बोलाएको हो ।
उनले भने, “सर्वे मात्रै होइन। हामीले पूर्ण अन्वेषणका लागि उहाँहरूलाई बोलाएको हो । तेल छ कि छैन भन्ने पत्ता लगाउने उद्देश्य राखिएको हो ।”
नेपालकै जस्तो भौगर्भिक अवस्था भएको भारतको आसाम र पाकिस्तानका कतिपय भूभागमा तेल उत्पादन भइरहेको भन्दै घिमिरेले नेपालमा पनि त्यस्तो सम्भावना रहेको अध्ययनहरूले देखाएको बताए ।
साभार: BBC News नेपाली