Saturday, October 5, 2024

रोहित पौडेलको शतकमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हरायो

spot_img

काठमाण्डौ । वेस्ट इन्डिज ‘ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले हरायो ।

वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाए । रोहित ५४ बलमा १ सय १२ रन बनाएर आउट भए । वेस्ट इन्डिज ‘ए’ का म्याथ्यु फोर्डे र ओबेड मकोएले समान २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए । यस्तै एलिक अथान्थीले ४७ रन बनाए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अबिनाश बोहराले समान १ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय