Monday, October 7, 2024

कर्मचारी हत्या विरोधमा गोरखा आँबुखैरेनी सडक अवरुद्ध

spot_img

३१ साउन, गोरखा । मनकामना बहिरा माध्यमिक विद्यालयका कर्मचारी श्यामहरि घिमिरेको हत्याको यथाशीघ्र छानबीन गर्न दबाब दिँदै स्थानीयबासीले शुक्रबार दोस्रो दिन पनि गोरखा आँबुखैरेनी सडक अवरुद्ध गरेका छन्।

स्थानीयबासीले गोरखा नगरपालिका १० टक्सारमा सडकमा ढुंगा थुपारेर अवरुद्ध बनाएको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक सुकबहादुर विकले जानकारी दिए।

घटनाको तत्काल छानबीन गर्ने र सत्यतथ्य सार्वजनिक गर्ने माग राखेर बिहान नौ बजेदेखि सडक अवरुद्ध गरिएको मृतकका आफन्त सुबास घिमिरेले जानकारी दिए। ‘भन्न त हामीले दुई घण्टाका लागि भनेका छौं, तर प्रशासन कार्यालयले हाम्रो मागलाई बेवास्ता गरे अनिश्चितकालीन चक्‍का जाम गर्नेछौं,’ घिमिरेले भने।

स्थानीयबासीले घटनाको यथासीघ्र अनुसन्धान गरी दोषीमाथि कारबाहीको माग गरेका छन्। उनीहरुले बिहीबार विद्यालयमा तालाबन्दी गरी सडक अवरुद्ध गरेका थिए।

त्यस्तै शुक्रबार जिल्ला प्रशासन कार्यालय पनि केहीबेर घेराउ गरे।गत सोमबार राति विद्यालयबाट घर जान हिँडेका ५० वर्षीय घिमिरेको मंगलबार बिहान नौ बजे विद्यालय नजिकैको जंगलमा शव भेटिएको थियो।

विद्यालयभित्र यसअघि पनि कुटपिट भइरहने र विद्यालयभित्रको कर्तुत बाहिर ल्याइदिने त्रासले विद्यालयभित्रै उनको हत्या भएको परिवारको आशंका छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको राजिनामा, बहिरा संघ, जिल्ला समिति खारेजी हुनुपर्नेलगायतका मागसमेत राखेर आन्दोलन गरेको घिमिरेले बताए।

पोष्टमार्टम गरिएको शव मृतकका आफन्तले अहिलेसम्म बुझ्न मानेका छैनन्। चक्काजाम खुलाउन प्रयास गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले घटनाको छानविन गरी छिट्टै अवरुद्ध सडक खुलाउने बताए।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय