Monday, July 8, 2024

आपराधिक घटना न्यूनीकरण गर्न काँकरभिट्टामा सीसी क्यामेरा

५ असार, काँकरभिट्टा । सुरक्षाका दृष्टिले संवेदनशील मानिने नेपालको पूर्वी प्रवेशद्वार काँकरभिट्टाको निगरानीका लागि थप सीसी क्यामेरा जडान गरिने भएको छ ।

बुधबार इलाका प्रहरी कार्यालय काँकरभिट्टामा सम्पन्न भेलाले मेचीनगर नगरपालिका र स्थानीयबासीको लगानीमा काँकरभिट्टाको विभिन्न ठाउँमा ७० देखि ८० वटा पाँच मेगा पिक्चरको नाइट भिजन क्यामेरा जडान गर्ने निर्णय गरेको पर्यटन तथा यातायात व्यवस्थापन समितिका अध्यक्ष नीरबहादुर कार्की नेत्रले बताए ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले अपराधमा विभिन्न नयाँ–नयाँ शैली अपनाउने भएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीले पनि नयाँ–नयाँ प्रविधिको विकास गर्न आवश्यकता रहेको भन्दै काँकरभिट्टा क्षेत्रमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताए । उनले एउटा सीसी क्यामेरा सय जना प्रहरीले गर्ने कामका लागि प्रयोग हुने बताए । उनले नगरको चारआली, धाइजन इँटाभट्टा, धुलावारीमा समेत क्यामरा जडान गर्न ेबताए ।

त्यस्तै उपप्रमुख मिना पोखरेल उप्रेतीले खुल्ला सीमानाका कारण नयाँ–नयाँ अपराधको आयत हुने र यसको नियन्त्रणका लागि तथा दुर्घटनामा अनुसन्धान गर्न सीसी क्यामेराहरु उपयोगी तथा नाकामा सीसी क्यामेरा जडानले अपराधमा कमी आउने बताइन् ।

जनसहयोगबाट बजार क्षेत्रमा जडान गरेर नेपालको पूर्वी प्रवेशद्वार क्षेत्रमा प्रहरीले चौबीसै घण्टा सीसी क्यामेरा मार्फत सहरको निगरानी गर्ने उद्देश्यले जडान गर्न लागिएको सीसी क्यामराको प्राविधिक इष्टमेट तथा स्थलगत अध्ययन अवलोकन गराइएको अध्यक्ष कार्कीको भनाई छ । उत्तरमा भट्टराई चोकदेखि पूर्वमा नेपाल भारतको सीमा मेचीपुल दक्षिणमा हुलाक कार्यालय तथा पश्चिममा अस्थायी ट्राफिक प्रहरी पोस्टसम्म जडान गर्ने योजना रहेको समितिका सचिव विष्णु श्रेष्ठले जानकारी दिए ।

सीसी क्यामरा मेरो पनि हो भन्ने अपनत्व गराउने नगरपालिकाले स्थानीयबासीको समेत लगानी खोजेको हो । काँकरभिट्टामा सीसी क्यामेरा जडान हुँदा सुरक्षा प्रबन्ध अझै मजबुत हुने, आपराधिक गतिविधिमा कम आउने प्रहरीले अपेक्षा गरेको छ । आधुनिक प्रहरीका लागि सीसी क्यामेरा आवश्यक प्रविधि र अत्यावश्यक साधन भइसकेकोे इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

सीसी क्यामेराले व्यक्तिमा मनोबिज्ञान असर पर्ने भएकाले पनि उसले अपराध गर्न छाड्ने तथा सीसी क्यामेराको सही उपयोग गर्न सके धेरै आपराधिक गतिबिधिमा कमी हुने र अनुगमन प्रणाली प्रभावकारी बन्ने, अपराधीहरुले ठूला–ठूला अपराध गर्ने अनि प्रमाण नष्ट गर्न अनेक उपाय रच्ने, तर सीसी क्यामेरामा कैद भए सजिलै उसले अपराधका प्रमाण नष्ट गर्न नसक्ने विज्ञहरुले बताएका छन् ।

जति–जति प्रहरी आधुनिक बन्दैं जान्छ उतिउति यस्ता प्रविधि प्रहरीलाई खाँचो पर्ने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका एक अनुसन्धान अधिकृत बताउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित
थप

लोकप्रिय