Sunday, October 6, 2024

आमाबुवालाई पछ्याउँदै चलचित्रमा ‘छोराछोरी पुस्ता’

spot_img

अभिनेत्री तथा निर्देशक झरना थापा तथा निर्माता सुनिलकुमार थापाकी छोरी सुहाना थापाले ‘ए मेरो हजुर ३’ मार्फत चलचित्रमा पाइला राखिन् । वर्ष २०७५ को अन्तिममा प्रदर्शनमा आएको चलचित्रबाट सुहानाले राम्रै चर्चा पनि पाइन् । झरनाले छोरीलाई नै लिएर नयाँ चलचित्र ‘भागवत् गीता’ निर्माणको घोषणा गरिसकेकी छिन् । वर्ष २०७५ मै अभिनेत्री उमा ‘बेबी’ गिरीकी छोरी शिवानी गिरीले ‘कही कतै’मार्फत चलचित्रमा पाइला चालिन् । पुराना अभिनेता विश्व बस्नेतकी छोरी निरिषा बस्नेतले पनि गत वर्ष चलचित्र क्षेत्रमा पाइला राखिन् । निरिषा ‘जानी नजानी’बाट चलचित्रमा आएकी हुन् ।

कलाकार किरण केसीका छोरा सुदन केसीले चलचित्र निर्देशन गरिसकेका छन् । सुदन निर्देशित चलचित्र ‘दाल भात तरकारी’ आउँदो शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।निर्देशक तथा कलाकार अशोक शर्माले छोरा अंकितलाई अभिनेताका रुपमा चलचित्रमा भित्र्याउने तरखर गरेका छन् । उनले ‘रातो टिका निधारमा’मार्फत छोरालाई चलचित्र क्षेत्रमा भित्र्याउने तयारी गरेका हुन् । यी त अहिलेका केही उदाहरण मात्र हुन् । चलचित्र निर्माता, निर्देशक होस् वा कलाकार । चलचित्र क्षेत्रमा बुवाआमाको बाटोमा हिँड्ने सन्तानको संख्या उल्लेख्य छ । थुप्रै चलचित्रकर्मीका छोराछोरीले बुवाआमाको त्यहीँ बाटोलाई पछ्याएर अगाडि बढेका छन् ।

बुवाको पथमा हिँडेर आफूलाई स्थापित बनाउने अभिनेतामध्ये चर्चामा छन् अनमोल केसी । उनी अभिनेता भुवन केसीका छोरा हुन् । होस्टेलबाट प्रवेश गरी ड्रिम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३ लगायतका चलचित्रमा अभिनय गरेका अनमोलको युवा पुस्तामाझ लोभलाग्दो लोकप्रियता छ । प्रदर्शनरत ‘ए मेरो हजुर ३’मा अनमोल र सुहाना मुख्य भूमिकामा छन् । चलचित्रमा व्यस्त तथा चर्चित अर्का सन्तान पुस्ता हुन् सलोन बस्नेत । उनी निर्देशक शोभित बस्नेतका छोरा हुन् । हलमा प्रदर्शनरत ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ दुवैमा उनको अभिनय छ । उनले बाल कलाकारको भूमिकाबाटै चलचित्रमा अभिनय यात्रा शुरू गरेका थिए । यद्यपि उनले अभिनेताको रुपमा ‘होस्टेल’बाट प्रवेश गरेका हुन् ।

अभिनेता टीका पहारीका छोरा गौरव पहारी पनि अहिलेका चलेका अभिनेता हुन् । ‘मञ्जरी’बाट चलचित्रमा प्रवेश गरेका गौरवले १ दर्जन चलचित्रमा अभिनय गरिसकेको छन् । उनी अभिनित चलचित्र ‘साइँली’ केही साताअघि प्रदर्शनमा आएको थियो । नयाँ चलचित्र ‘पसिना’ यही वैशाख २७ र ‘कुम्भकरण’ जेठ १७ गतेबाट प्रदर्शनमा आउँदैछ ।अभिनेत्री केकी अधिकारी निर्देशक बद्री अधिकारीकी छोरी हुन् । ‘स्वर’मार्फत चलचित्रमा डेब्यू गरेकी केकीले २ दर्जन बढी चलचित्रमा अभिनय गरेकी छिन् । उनी गत वर्ष प्रदर्शनमा आएको कोहलपुर एक्सप्रेसबाट निर्मात्री समेत बनेकी छिन् ।

निर्देशक नारायण पुरीका छोरा संयम पुरी चलचित्र क्षेत्रमै छन् । संयमले बाल कलाकारको रुपमै दर्जन बढी चलचित्रमा अभिनय गरेका थिए । उनी अभिनेताका रुपमा अभिनय गरेको पहिलो चलचित्र ‘सायद’ हो । अभिनेत्री रिस्ता बस्नेत चलचित्र क्षेत्रकै परिवारमा हुर्केकी हुन् । उनकी आमा विपना बस्नेत मेकअप आर्टिस्टदेखि अभिनयमा सक्रिय छिन् । रिस्ताले आधा दर्जन चलचित्रमा अभिनय गरेकी छिन् । हाल अमेरिकामा रहेकी अरुणीमा लम्साल कलाकार राधा लम्सालकी छोरी हुन् । आधा दशक अगाडिको समयमा अरुणीमा चलचित्रमा व्यस्त नायिकामा पर्थिन् ।

मौसमी मल्लका छोरा बिक्की मल्लले चलचित्र ‘समय’मार्फत चलचित्रमा पाइला राखेका थिए । त्यसपश्चात उनले अर्को चलचित्र ‘साइकल’मा पनि अभिनय गरे । निर्देशक शिव रेग्मीकी छोरी भावना रेग्मी ‘सो सिम्पल’, द्वन्द्व निर्देशक राजेन्द्र खड्गीकी छोरी रागिनी खड्गी ‘प्लान’ मार्फत चलचित्रमा उदाइन् । रागिनीले अन्य केही चलचित्रमा अभिनय गरिन् तर भावना पहिलो चलचित्रबाटै हराइन् । अभिनेता तथा निर्देशक जयकिसन बस्नेतकी छोरी जान्ह्वी बस्नेत पनि चलचित्र क्षेत्रमा छिन् । ‘सुब्बा सा’प’बाट चलचित्रमा प्रवेश गरेकी जान्ह्वी अभिनित चलचित्र ‘यात्रा’ हलमा प्रदर्शनरत छ ।

चर्चित बाल कलाकार अनुभव रेग्मी पनि कलाकारकै सन्तान हुन् । उनकी आमा कविता रेग्मीले थुप्रै चलचित्रमा अभिनय गरेकी छिन् । अभिनेत्री करिश्मा मानन्धर र निर्माता विनोद मानन्धरकी छोरी कविता पनि चलचित्रमा भित्रिन लागेकी छिन् । नायक शिव श्रेष्ठले निर्माण गरिरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत कविताले प्रवेश गर्न लागेकी हुन् । नायक शिवले यसै चलचित्रमार्फत आफ्नो छोरो शक्ति श्रेष्ठलाई पनि चलचित्रमा भित्र्याउँदैछन् । यद्यपी अहिले यो चलचित्रको काम रोकिएको छ ।

चलचित्र क्षेत्रमा बुवाआमाको पथ पछ्याउने छोराछोरीको संख्या उल्लेख्य छ । एकातिर चलचित्रकर्मीको घरको माहोलले छोराछोरीलाई त्यसतर्फ आकर्षित गरिरहेको हुन्छ भने अर्कोतिर बच्चैदेखि बुवाआमासँग सुटिङमा जाँदा छोराछोरी चलचित्रप्रति आकर्षित भएको पाइन्छ । धेरै चलचित्रकर्मीले आफ्नो सन्तानलाई आफू नै हिँडेको बाटोको डोर्याउन चाहेको पाइन्छ । चलचित्र क्षेत्रमा आवद्धका सन्तानले चलचित्रमा अगाडि बढ्न बुवाआमाको साथ, सहयोग र हौसला पनि राम्रो पाएको पाइन्छ । केही सीमितका सन्तान मात्र चलचित्रमा स्थापित छन् । धेरै सन्तान गुमनाम छन् । कोही भने अहिले पनि संघर्षरत देखिन्छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय