प्रदेश १ ब्युरो। विराटनगर । Annapurnapost । जलस्रोतको धनी देश नेपालको पूर्वी पहाडका बासिन्दाले खानेपानी संकट झेलिरहेका छन्। मुहान धमाधम सुक्दै गएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ। स्थानीय, प्रदेश र संघीय गरेर तीनै तहका सरकार पाउँदा पनि जनताले पानीकै कारण अनेक हन्डर बेहोर्नुपरिरहेको छ।
पाँचथरको कुम्मायक गाउँपालिका–५ बिजुवापानीका स्थानीयले एक दिनमा एक गाग्रो पानी पाउँछन्। एउटा धारोमा ४० परिवार निर्भर रहेको स्थानीय लोकवीर बोहोराले बताए। ‘हिउँदमा धारोको पानी सुकेर सानो भएको छ’, उनले भने, ‘बिहान ३ बजे लाइनमा बस्दा दिउँसो ३ बजे मात्र पानी भर्ने पालो आउँछ।’ स्थानीय मानबहादुर बुढाथोकीका अनुसार पालोमा पानी भर्न नपुग्दा अर्को दिन पर्खिनुको विकल्प छैन।
प्रदेश सरकारको १ करोड ९० लाख रुपैयाँ लगानीमा डिप बोरिङ सञ्चालन गरी पानीको व्यवस्था गरिएको छ। १ हजार ५ सयलाई लक्ष्य गरिए पनि यासोक बजारका ६ सय ५० घरलाई मात्र पानी पुगेको छ। समस्या समाधान गर्न तमोर लिफ्ट खानेपानी आयोजना निर्माण भइरहेको छ। ४० करोड ४४ लाख ४७ हजार रुपैयाँ लागतको काम अन्तिम चरणमा पुगेको छ।
यासोक बजार नजिकै सञ्चालनमा ल्याइएको डिप बोरिङ।
फिदिममा बृहत् खानेपानी आयोजनाका संरचना बिग्रिँदा समस्या झेल्नुपरिरहेको फिदिम–४ गढीकी विनीता नुगोले बताइन्। पाइप मर्मतसम्भार नहुँदा फिदिमका उपभोक्ताले बेला–बेला खानेपानी अभावसँग जुध्नुपर्छ। सदरमुकामबाट टाढा शनिबारे, गलगले, तिरतिरेलगायत स्थान र तमोर नदी तथा हेवा खोलाबाट पानी बोक्नुपर्ने नुगोले बताइन्।
२० वर्षका लागि भनेर बनाइएको आयोजनामा दुई वर्षमै समस्या आउन थालेको फिदिम खानेपानी उपभोक्ता समितिका अध्यक्ष गजाधर भट्टराईले बताए। प्रदेश १ सरकारले छुट्याएको ५ करोड रुपैयाँबाट आयोजना पुनर्निर्माणको काम थालिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार आयोजनामा एचडीपी पाइप राख्ने, माथिल्लो गाउँमा रहेको रिजर्भ ट्यांकीछेउ दुईवटा डिप बोरिङ सञ्चालन गर्ने र फिल्टर राख्ने तयारी छ।
विद्युत् अभावले लिफ्टिङ योजना अलपत्र
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाका घमण्डबहादुर पुलामी दैनिक सय लिटर पानी एक रुपैयाँका दरले किन्छन्। यही पानी घरमा प्रयोग गर्नेदेखि तीन भैंसी, सुँगुर र १० बाख्रालाई पुर्याउँछन्। गाउँपालिका केन्द्रमा पानीको मुहान छैन।
सिद्धिचरण नगरपालिकामा खानेपानी उपभोक्ता समितिले वडा नम्बर ११ मा वितरण गरेको पाइपमा पानी नआएपछि मुखले पाइप फुकेर पानी तान्दै स्थानीय। तस्बिर : शिवप्रसाद ढुंगाना
मोलुङ खोलाबाट लिफ्टिङको योजना बनाए पनि विद्युत् अभावले कार्यान्वयन हुन सकेको छैन। गाउँपालिका अध्यक्ष मोतीराज राईका अनुसार सबै वडामा मुहान सुकेर पानी अभाव हुँदा १५ किलोमिटर टाढा रहेको दूधकोसी नदीमा कपडा धुन र नुहाउन पुग्नुपर्ने बाध्यता छ।
सिद्धिचरण नगरपालिकामा बर्सेनि स्रोत सुक्ने र उपभोक्ता बढ्ने भएपछि पानी व्यवस्थापन गर्न गाह्रो भइरहेको खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष पूर्ण श्रेष्ठले बताए। आयोजनाको पानी पर्याप्त नभएपछि आलोपालो गरेर वितरण गर्ने गरिएको उनको भनाइ छ।
ओखलढुंगाको चिशंखुगढी गाउँपालिका – ६ भदौरेमा ट्याक्टरमा पानी बोकेर स्थानीयलाई वितरण गरिंदै।
चम्पादेवी, लिखु, मोलुङ, सुनकोसी गाउँपालिकामा पनि खानेपानीको हाहाकार छ। मानेभञ्ज्याङ, चिसंखुगढी, लिखु र चम्पादेवी गाउँपालिकाले लिफ्टिङ प्रविधि प्रयोगमा ल्याउन विस्तृत अध्ययन गरेका छन्। विद्युत् नहुँदा योजना कार्यान्वयनमा ढिलाइ भएको छ।
संखुवासभाका तीन नगरपालिका धर्मदेवीका २५, चैनपुरका १० र पाँचखपनका १० गरी ४५ परिवार पानी अभावका कारण बसाइँ गएका छन्। धर्मदेवी–७ का वडाध्यक्ष भोलामान श्रेष्ठका अनुसार २०७२ को भूकम्पपछि पानीका मुहान धमाधम सुकिरहेका छन्।
लिङलिङमा पानी अभाव भएपछि पानी थाप्नका लागि बनाइएको कार्यतालिका (बायाँ)। तस्बिर : अनिष विष्ट
कुवापानी, आहाले, मालबाँसे, खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले, फापलिङलगायका गाउँमा पानीको हाहाकार छ। दैनिक चार घण्टाभन्दा बढी समय खर्चिएर अरुण नदीको पानी प्रयोग गर्नुपरिरहेको उनले सुनाए।
चैनपुर नगरका २ हजार ५ सय परिवार पानी संकटबाट गुज्रिरहेका छन्। चैनपुर–११ का वडाध्यक्ष धर्मराज चौहानका अनुसार कुइँभीर, मलाटे, अम्बोटे, रातमाटे, गैरीगाउँ, लोहाकोटलगायत गाउँका ६ सय ३० परिवारमा पानीको अभाव छ। नजिकमा मुहान छैन, भएका पनि सुके। नगरका ३ हजारभन्दा बढी परिवारले पानी अभाव झेलिरहेको मेयर विपिन राईको भनाइ छ।
दीर्घकालीन रूपमा समस्या समाधान गर्न १५ करोड रुपैयाँ आवश्यक पर्ने भएपछि प्रदेश र केन्द्र सरकारसँग सहयोग मागिएको उनले सुनाए। सभापोखरी गाउँपालिका–१ मा बसोबास गर्ने ३ सय परिवार काकाकुल जीवन बिताउन बाध्य रहेको वडाध्यक्ष मणिसुन्दर राईले बताए। सदरमुकाम खाँदबारीमा ३ हजार ५ सय परिवारलाई पानी अभाव रहेको मेयर मुरारी खतिवडाले बताए।
डिप बोरिङ व्यर्थै
तेह्रथुमको छथर गाउँपालिकाको मुख्य समस्या पानी हो। वडा नम्बर ५ ओख्रे लामकटेरीको दलित बस्ती पानी नपाएर काकाकुल छ। मुहान सुकेपछि एक गाग्री पानीका लागि एक बिहान खर्चिनुपर्ने स्थानीय ५८ वर्षीया रामकुमारी रोक्काले बताइन्। ‘नेताहरूले पानी दिन्छौं भनेर भोट मागे तर पानीतर्फ उनीहरूको ध्यानै छैन’, उनले भनिन्।
२५ परिवार बसाइँ सरेका छन्। फाक्चामारा, ओख्रे पञ्चकन्यालगायत गाउँका बासिन्दा पानी अभावमा छटपटाइरहेका छन्। लाखौं रुपैयाँ खर्चिएर सञ्चालनमा ल्याइएका डिप बोरिङ कामै नलाग्ने अवस्थामा छन्। तत्काल खानेपानी आयोजना सञ्चालन गर्न २ लाख १६ हजार खर्चिएर ट्यांकी बनाइएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए।
पानी भर्न पालो पर्खिंर्दै तेह्रथुमको छथर गाउँपालिकास्थित पञ्चकन्याका स्थानीय।
म्याङलुङ नगरपालिका–५ का डम्बरबहादुर लिम्बूका अनुसार गाग्रोमा बोकेर पानी खानुपर्ने बाध्यता वर्षौंदेखि उस्तै छ। ‘चुनावका समयमा उम्मेदवारहरूले खानेपानी घरमै पुर्याइदिने आशा देखाएका थिए’, उनले भने, ‘पानी ल्याइदिन्छौं भन्ने जनप्रतिनिधिले निर्वाचित भएपछि आँगन टेकेका छैनन्।’
एडीबीको सहयोगमा २०५५ मा निर्मित खानेपानी आयोजनाको मर्मत हुन नसक्दा जर्जर बनेको छ। अधिकांश घरमा धारा बनाइए पनि पाइप लाइन विस्तार नभएको स्थानीय तेजबहादुर लिम्बूले बताए। ‘त्यो बेला सबै घरधुरीसँग ५ सयदेखि २ हजार रुपैयाँसम्म संकलन गरियो’, उनले भने, ‘तर, पानी खान पाइएन।’ आम्दिम, थापागाउँ, नर्केटे, पिलिङ डाँडालगायत बस्तीका ३ सय परिवार पानीको अभावमा छन्।
म्याङलुङका मेयर सञ्जयकुमार तुम्बाहाङफेका अनुसार पानीको संकट टार्न ‘एक टोल, एक ट्यांकी’को अवधारणा अघि सारिएको छ। नगरका सबै घर–घरमा दुई वर्षभित्र स्वच्छ खानेपानी पुर्याउने योजना छ।
बर्खामा पनि मूल फुटेन
ताप्लेजुङको फुङलिङ नगरपालिकाका–३ का गोमबहादुर तामाङका अनुसार २०४५ को भूकम्पपछि केही तल सरेको ६ मुहान सुक्दा गत वर्षदेखि पानी निस्किएको छैन। बर्खायाममा पनि मूल फुटेनन्। लामो खडेरीमा पनि कहिल्यै नसुक्ने मुहान अचानक सुकेपछि खानेपानी समस्या भएको सिरिजंघा गाउँपालिका–७ की नेत्रकुमारी खवासले बताइन्।
सिरिजंघा–७ का नेत्र भट्टराईका अनुसार आम्दानीको मुख्य स्रोत अलैंचीमा सिँचाइ पुगेको छैन। प्रदेश सरकारले फुङलिङमा पानी व्यवस्था गर्न २७ करोड खर्चने तयारी गरेको छ। सिँचाइ गर्न नपाएर धेरैले कृषि पेसा छाडेको फुङलिङ–२ का वडाध्यक्ष मोहन न्यौपानेले बताए। खानेपानी अभावका कारण पूर्वाधार निर्माण प्रभावित बनेका छन्।
भोजपुर बहुमुखी क्याम्पसकी विद्यार्थी तुलसाले धारामा खानेपानी थाप्न पालो कुर्दा पढाइ छुट्ने गरेको बताइन्। १ हजार ३ सय ८५ घरधुरी उपभोक्ता धानिरहेको सिलिचुङ खानेपानी तथा मूल उपभोक्ता समितिले एक दिनमा २ लाख लिटर पानी वितरण गरिरहेको छ।
भोजपुर नगरपालिका–९ काफ्लेस्थित सिलिचुङ खानेपानी तथा मूल उपभोक्ता समितिको खानेपानी ट्यांकी र सदरमुकामनजिकै एउटा धारामा पानी भर्दै बालक। तस्बिर : प्रदीपचन्द्र राई
मूल मुहान रहेको भोजपुर नगरपालिका–५, बोखिमको भुल्के, डढुवा, तीनधारे र जोरसाँगुका मुहानका सतह घट्न थालेपछि समस्या झेल्नुपरेको समितिका अध्यक्ष प्रवीण सुवालले बताए। उनका अनुसार खानेपानीको क्षमता प्रतिसेकेन्ड १४ लिटर भए पनि हाल ८ लिटरमा झरिसकेको छ।
कुवामा ताल्चा
रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङको रानागाउँमा बर्सेनि खानेपानी संकट पर्छ। यहाँ खानेपानीको स्रोत एउटा कुवा छ, जहाँ ताल्चा लगाइन्छ। खडेरी सुरु भएपछि पानी बाँडीचुँडी चलाउन स्थानीयले ताल्चा लगाउने गरेका छन्। १६ घरले बिहान–बेलुका २÷२ गाग्री पानी पाउँछन्।
मुहान नरित्तियोस् भनेर यो तरिका अपनाइएको स्थानीय रमिला राना मगरले बताइन्। ‘गाउँमा वर्षैपिच्छे खानेपानीको संकट पर्छ। भनेजति पानी पुग्दैन’, उनले भनिन्, ‘एकचोटिमा २–२ गाग्री उघाउन पुग्छ। त्यसपछि पानी रित्तिन्छ। फेरि जमाउनै पर्यो नत्र बिहान र बेलुकी खाना पाक्दैन।’
विगत दुई वर्षसम्म आसपासका ओडारे, जुकेपानी, अगौटे, लट्रीडाँडा टोलका गाउँलेलाई पनि यही कुवाले थेग्थ्यो। वल्लो–पल्लो गाउँका वस्तुभाउलाई खुवाउन कुनै समस्या थिएन। तर, सुक्खाले मुहान सुक्दै जाँदा जथाभावी पानी लान थालेपछि गाउँले मिलेको अर्का स्थानीय जितबहादुर क्याप्छाकी मगरले सुनाए।
‘पहिले यही कुवाको पानीले सबैलाई मनग्गे पुग्थ्यो’, उनले भने, ‘मुहानहरू सुक्न थालेपछि अन्य गाउँका मानिस रातारात आएर पानी लान थाले। आफू जाँदा कुवामा पानी हुँदैनथ्यो। वस्तुभाउलाई जथाभावी पानी खुवाउन थाले।’ उनका अनुसार कुवा बिहान ५ र साँझ ६ बजे गरी दुईपटक खुला गरिन्छ। गाउँका १६ घरलाई बराबरी बाँडेपछि पुनः ताला लगाइन्छ।
रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङको रानागाउँमा ताल्चा लगाइएको कुवा। तस्बिर : प्रदीपचन्द्र राई
धेरैजसो स्थानीयको दैनिकी पानी जोहो गर्नमै बित्छ। पानी पर्याप्त नभएकाले वस्तुभाउ बेंसीतिर वा थोरै मात्र पाल्ने गरिएको स्थानीय कृष्णकुमारी राना मगरले सुनाइन्। पानीको चरम संकटका कारण घरपाल्तु चौपाया–पक्षी थप जोखिममा परेको उनको भनाइ छ। वस्तुभाउ पाल्ने स्थानीय सिक्तेल पिखुवा खोलातिर बसाइ सरेका छन्।
ओडारे गाउँका सबै कुवा सुकिसकेका छन्। जुकेपानीको कुवामा १० घरधुरीलाई दैनिक डेढ गाग्रीजति खानेपानी पुग्छ। मानेभञ्ज्याङ राष्ट्रपति विद्यादेवी भण्डारीको जन्मथलो हो। राष्ट्रपति भण्डारी जन्मेको आमबोट गाउँमा पनि खानेपानी समस्या छ। मानेभञ्ज्याङका ५ सय १७ घरधुरीले पानीको संकट भोग्दै आएका छन्। अर्चले, भोर्लेनी, आमबोटे, गडा, अगौटे, रानागाउँ, गुराँसेलगायत स्थान सुक्खाग्रस्त क्षेत्र हुन्। सुक्खाका कारण अर्चले, भोर्लेनी र अगौटेका ५६ घरधुरी विस्थापित भइसकेका छन्।
(भीमकुमार बाँस्कोटा/फिदिम, शिवप्रसाद ढुंगाना/ओखलढुंगा, अनिष विष्ट/संखुवासभा, सीताराम गुरागाईं/ताप्लेजुङ, टीआर लिम्बू/तेह्रथुम र प्रदीपचन्द्र राई/भोजपुरको सहयोगमा )- Annapurnapost.com