Tuesday, October 8, 2024

पाँच दशकमा पनि बनेन उर्लाबारी रपाँचथरको रवि जोड्ने सडक

spot_img

२२ चैत, मधुमल्ला । पाँचदशक पुग्न लाग्दा पनि मोरङको उर्लाबारी रपाँचथरको रवि जोड्ने सडकले मूर्तता पाउन सकेको छैन ।

५२ किलोमिटर सडक ४७ वर्ष पुग्नलाग्दा पनि निर्माण सम्पन्न नभएको हो । उर्लाबारी–रवि सडक २०२८ सालमा तत्कालीन शिक्षामन्त्री नरेन्द्र प्रधानले शिलान्यास गरेका थिए । सडकको ट्रयाक खोल्न थालिएको ४७ वर्ष पुगिसक्दा पनि निर्माण सम्पन्न नभएको हो । यो मार्ग ताप्लेजुङ, पाँचथर, इलामबासीका लागि तराई जोड्ने सबैभन्दा छोटो मार्ग हो । ‘पूरै सडक निर्माण हुने हो भने यो सडक कोसेढुङ्गा सावित हुनसक्छ’ –उर्लाबारी–मधुमल्ला–तोरीबारी सडक निर्माण पहल तथा दबाव समितिका संयोजक मानबहादुर श्रेष्ठले भने । यो सडकको ठेक्का कुन कम्पनीले प्राप्त गरेको थियो भन्नेसम्म स्थानीयलाई ज्ञान छैन ।

२०२८ सालमा शुरु भएर २०३३ सालसम्म स्थानीयले ट्रयाक खोल्नका लागि जनश्रमदानसमेत गरेको मिक्लाजुङ गाउँपालिकाका प्रमुख देवीप्रसाद आचार्यले बताए । त्यसपछि २०५१ सालसम्म बाटोले निरन्तरता पाउन सकेको थिएन । त्यसपछि पुनः ट्रयाक खोल्ने काम शुरु भएको उनले बताए । ‘अहिले पनि बाटो व्यवस्थित चाहिँ भएको छैन, मुस्किलले गाडी पुग्छ । हिउँदमा जेनतेन गाडी चल्दै छ । वर्षा लागेपछि चलाउन सकिँदैन’–उनले भने । उक्त सडकका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले क्रमागत योजना अन्तर्गत १ करोड १४ लाख बजेट विनियोजन गरेको गाउँपालिका प्रमुख आचार्यले बताए ।

तर, यही सडक अन्तर्गत कालोपत्रे भएको १२ दशमलव ४ किलोमिटर उर्लाबारी–मधुमल्ला सडक ठाउँ–ठाउँमा भत्किसकेको छ । जसले गर्दा दैनिक सानातिना दुर्घटना हुने गरेका छन् । स्थानीयका अनुसार कालोपत्रे भएको सडकले पनि खाल्डाखुल्डीका कारण ज्यानमारा सडकको उपनाम पाएको छ । चालू आर्थिक वर्षको चैतको दोस्रो सातासम्म मात्रै २ जनाले ज्यान गुमाइसकेका छन् भने कैयौं घाइते बनेको प्रहरी बताउँछ ।

कालोपत्रे गरिएको सडक गुणस्तरीय नहुँदा चाँडै भत्किएको दबाव समितिका संयोजक श्रेष्ठले बताए । उनका अनुसार उक्त सडकको तीन पटकसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले स्थलगत अनुगमन गरिसकेको छ । तर, ठेकेदार कम्पनीलाई हालसम्म कारबाही गर्न सकेको छैन । ‘घरअगाडिको सडक कालोपत्रे भएकोमा दङ्ग परेका थियौं’– मधुमल्लाका स्थानीय देवी खड्काले भने ।

स्थानीय बासिन्दाले ठेकेदारविरुद्ध दिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार ल्याव परीक्षणका लागि कालोपत्रे गरिएको सडकको सामग्री लगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सडक डिभिजन कार्यालय मोरङ, ठेकेदारलगायतका टोलीले स्थलगत निरीक्षण गरेको उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेलले जानकारी दिए । कालोपत्रे भएको १२ दशमलव ४ किलोमिटर सडक २०६८ सालमा ठेक्का लागेको थियो ।

०६९ जेठ ४ गते तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ८ करोड ९४ लाखमा काठमाडौंको प्रेरा–ज्योति जेभीले ठेक्का लिएको थियो । तर, हालसम्म सम्पन्न नगरेको स्थानीय उनी बताउँछन् । गाउँपालिकाका प्रमुख आचार्यले पनि ठेकेदारको बदमासीका कारण सडक गुणस्तरीय नबनेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय