Wednesday, October 9, 2024

म्याग्दीमा फेरि हिमपात, जनजीवन प्रभावित

spot_img

१५ फागुन, म्याग्दी । उच्च पहाडी जिल्ला म्याग्दीमा मङ्गलबार रातिदेखि हिमपात भएको छ । जिल्लाको उच्च क्षेत्रमा यसपटक चौथोपटक हिमपात भएको छ भने तल्लो क्षेत्रमासमेत तेस्रोपटक हिमपात भएको हो ।

म्याग्दी सदरमुकाम बेनीदेखि २६ कोष टाढा रहेको दूर्गम तथा विकट धौलागिरी गाउँपालिका–१, गूर्जामा अहिलेसम्म छैटौंपटक भारी हिमपात भएको छ । मध्य फागुनमा भएको भारी वर्षा र हिमपातका कारण स्थानीयको जनजीवन प्रभावित बनेको छ । रातिदेखि भैरहेको वर्षा र हिमपातका कारण घर बाहिर निस्कन नसकेको जगन्नाथ आधारभूत विद्यालय गाजनेका प्रधानाध्यापक निलकण्ठ शर्माले टेलिफोनमा बताउनुभयो ।

पटक–पटक परेको हिमपातका कारण स्थानीयबासीन्दालाई सास्ती भएको छ । यसपटक पनि आधा फिटसम्मै हिउँ जमेको बेनी नगरपालिका–५, डडुवाका नारायण शर्माले टेलिफोनमा जानकारी दिनुभयो । पछिल्लोपटक १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रहरुमा फेरि तेस्रोपटक हिमपात भएपछि खेतीपातीमा समेत असर परेको स्थानीयले बताएका छन् ।

२०६३ साल फागुन २ गते म्याग्दीको सदरमुकाम बेनीबजारमा हिमपात भएको थियो । त्यसपछि अहिले १२ वर्षपछि जिल्लाको तल्लो क्षेत्रमा तेस्रो पटकसम्म बाक्लो हिउँ परेको छ । गएके माघ महिनाको दोस्रो र तेस्रो साता परेको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको हो ।

जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने गूर्जा, लुलाङ, मुदी, मल्कबाङ, कुइनेमङ्गले, टोड्के, खोप्रालेक, घोडेपानी, पुनहिल, महरेडाँडा, नागी लगायतका क्षेत्रमा भारी हिमपात भएको छ । यसैगरी बेनी नगरपालिकाको ज्यामरुककोट, भकिम्ली, पुलाचौर, डडुवा, गाजने, पात्लेखेतसहितका माथिल्लो क्षेत्रमा हिमपात भएको छ ।

 

जिल्लाको उच्च भेगहरुमा २ फिटभन्दा माथिसम्म हिमपात भएको छ भने तल्लो बस्तीका अधिकांश ठाउँहरुमा झण्डै १ फिटसम्म हिउँ जमेको छ । वर्षासँगै हिमपातले जिल्लाका सामुदायिक विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय