Thursday, October 10, 2024

घरमै बन्दुकसहितका हातहतियार बनाउने एकजना पक्राउ

spot_img

२९ पुस, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरमै कारखाना सञ्चालन गरी अवैध रुपमा हातहतियार बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

गुल्मी धुर्कोट गाउँपालिका ३ हाडहाडे निवासी ५१ वर्षीय शेरबहादुर जीसीलाई घरमै अवैध रुपमा आरन संचालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले आइतबार जिल्ला प्रहरी कार्यालय तम्घासमा पत्रकार सम्मेलन गरी अवैध रुपमा भरुवा बन्दुक बनाउनका लागि प्रयोग हुने सम्पूर्ण सामग्रीसहित जीसीलाई सार्वजनिक गरेको छ ।

प्रहरीले जीसीको घरबाट बरामद गरेका अवैध सामग्रीहरुमा तीन थान भरुवा बन्दुक, मेड इन कोलकत्ता लेखिएको एकथान टोय एर गन, दुई थान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउनका लागि प्रयोग हुने ६ पिस रड, बारुद, पटका, केप, बन्दुकको टेगर, कटिङ्ग प्लेट, सटगनको खोका, ब्याट्रि, युरिया र आरन पंखालगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताउनुभयो ।

प्रहरीले विषेश सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा इलाका प्रहरी कार्यालय पुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घरमा हतियार बनाउने कारखानासहित जीसीलाई पक्राउ गरेको हो ।

प्रहरीले गएको साता धुर्कोट गाउँपालिका ७ निवासी कृष्ण घर्तीको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरेको थियो । पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासदमा राखी थप अनुसन्धान गरिरहेको बताएको छ ।

गएको साता पनि गुल्मीको इस्मा गाउँपालिकाबाट प्रहरीले बेवारिसे अवस्थामा बोरामा बाधेर लुकाई राखेको अवस्थामा एक नाल भरुवा बन्दुक समेत बरामद गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय