Monday, October 7, 2024

३३ किलो सुनसहित समातिएकालाई नेपाल ल्याएर मुद्दा चलाउने तयारी

spot_img

१ पुस, काठमाडौं । भारतको कोलकातामा ३३ किलो सुनसहित पक्राउ परेका दुईजनालाई नेपालमा ल्याएर थप अनुसन्धान गर्नेबारे सरकारले गृहकार्य सुरु गरेको छ । मंसिर २१ गते कोलकातामा पक्राउ परेका हेमप्रसाद शर्मा र राकेशप्रसाद नेपालमा सुनतस्करीमा कुख्याती कमाएका चुडामणी उप्रेती ‘गोरे’ समूहकै भएको निक्र्योलसहित गृह मन्त्रालयले उनीहरुलाई नेपाल ल्याएर थप अनुसन्धान अघि बढाउने गृहकार्य थालेको हो ।

‘यो त्यहि केस हो भन्ने लगभग कन्फर्म छ, यसलाई हामी ‘केयरफुल्ली भेरिफिकेसन’ गरिरहेका छौँ, गृह मन्त्रालयका एक उच्च अधिकारीले उज्यालोसँग भने, ‘आज बेलुकासम्ममा केही न केही निष्कर्ष आउनेछ  । मन्त्रीज्यू, सचिवज्यू र आईजीपी सापले समन्वय गरी आइतबार बेलुकासम्ममा पक्कै महावाणिज्य दूतावासमार्फत प्रक्रिया अघि बढाइने छ ।’

गृह मन्त्रालयले पक्राउ परेका दुवैजनालाई कोलकातामा महावाणिज्य दूतावासमार्फत नेपाललाई बुझाइदिन आग्रह गर्ने तयारी गरेको हो । भारतमा सुन तस्करलाई कडा कारबाहीको प्रावधान नरहेको तर नेपालमा उनीहरु सनम शाक्य, सानु बन र अर्का एकजना गरी तीनजनाको हत्या र मृत्युसहित व्यक्ति अपहरण र यातनामा पनि मुद्दा चलाउन सकिने भएकाले उनीहरुलाई नेपाल ल्याएर थप मुद्दा चलाउने गृह मन्त्रालयले तयारी गरेको हो । उनीहरुलाई भारतमा मुद्दा दायर गरेलगत्तै नेपाललाई बुझाउने गरी प्रक्रिया सुरु गर्ने मन्त्रालयको तयारी छ ।

नेपालमा उनीहरुलाई सुन तस्करीका साथै ३३ किलो सुन लुकाएको भन्दै गोरेले यातना दिँदा मारिएका सनम शाक्यको हत्या, त्रिभुवन विमानस्थलमा शंकास्पद रुपमा ज्यान गुमाएका सानु बन र हिरासतमा हुँदा आत्महत्या गरिएका भनिएका एकजनासमेत तीनजनाकै मृत्युको विषय, अपहरण यातनालगायत विभिन्न अपराधमा मुद्दा चलाउन सकिने प्रहरीले जनाएको छ ।

बरामद सुनको परिमाण गोरे समूहले तस्करी गरेको तर अहिलेसम्म नभेटिएको सुनको परिमाणसँग मिलेको, पक्राउ परेका दुईजनाको नाम सुन काण्डमा थप बुझ्नुपर्ने व्यक्तिका रुपमा किटान गरिएका व्यक्तिसँग मिलेको र गोरे समूहले नेपालबाट तस्करी हुने सुनको कारोबार गर्ने थलो पनि भारतको कोलकाता नै रहेकोलगायत कारणले उनीहरु गोरे समूहकै व्यक्ति भएको र सुन पनि त्यही समूहको भएको लगभग निश्चित जस्तै रहेको छानविन टोलीका संयोजक रहेका गृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको भनाइ छ ।

सुन तस्करीको गिरोह लगभग ध्वस्त बनाएकाले अहिले विमानस्थलबाट ३३ किलो सुन तस्करी हुने सम्भावना नभएको र त्यसमाथि गोरे पक्राउ पर्नुअघि कोलकाताबाटै नेपाल आएकाले पनि यो समूह गोरेकै हो भन्ने लगभग निश्चित रहेको सहसचिव पौडेलको दाबी छ ।

गोरेलगायतका अभियुक्त पक्राउ परे पनि ३३ किलो सुन कहाँ छ भन्ने पत्ता लगाउन नसक्दा  सरकार र नेपाल प्रहरीप्रति चारैतिर आशंका र आलोचना भइरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय