Sunday, October 6, 2024

कसरी लिने शैक्षिक कर्जा ?

spot_img

१२ असोज, काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने व्यवस्था लागू गरेको छ । अघिल्लो हप्ता अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि ल्याएसँगै आवेदन सुरु भैसकेको छ ।

राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिन सकिनेछ । मन्त्रालयले तयार पारेको कार्यविधिअनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर दुई प्रकारको ऋण लिन पाइन्छ ।

पहिलो, शिक्षित यूवा स्वरोजगार कर्जा । यसमा शिक्षित यूवाले प्रमाणपत्र र व्यवसाय धितोमा राखेर ऋण लिन सक्ने अर्थ मन्त्रालयले जनाएको छ । कम्तीमा स्नातक पास गरेकाले ऋणका लागि आवेदन दिन सक्छन् । ऋण लिनेको उमेर ४० वर्षभन्दा कम हुनुपर्छ ।

ऋण लिनेले घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत संस्थामध्ये एकबाट कम्तीमा सात दिने उद्यम व्यवसाय गर्ने तालिम लिएको हुनु पर्नेछ । यसको प्रमाणपत्र पनि पेस गर्नुपर्छ ।

यस्तै उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षाको लागि पनि कर्जा लिन सकिनेछ । माध्यामिक वा त्यस सरह उत्तीर्ण भएका र २५ वर्ष नकटेका यूवाले यो कर्जा लिन पाउनेछन् ।

यस्तो कर्जा लिने विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनु पर्नेछ ।

यसरी कर्जाको लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनु पर्नेछ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र पनि समावेश गर्नुपर्छ ।

प्राविधिक शिक्षा कर्जाको लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नु पर्नेछ ।

यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनेछन् । यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ । जसमध्ये सरकारले पाँच प्रतिशत ब्याज तिरिदिने छ ।

शिक्षित युवा स्वरोजगार कर्जाको सीमा ७ लाखको र उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुनेछ ।

राष्ट्र बैंकको परिपत्र

नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकको परिपत्रपछि बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म शैक्षिक कर्जा दिन पाउने छन् ।

शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइनेछ । तर केन्द्रीय बैंकको निर्देशनानुसार लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक उत्तीर्ण विद्यार्थीले शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

शैक्षिक कर्जा लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको, विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनुपर्नेछ ।

यस्तै घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायतका निकायबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य लिएको वा यो स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाणपत्र पेश गरेको हुनुपर्नेछ ।

त्यस्तो कर्जा लिएका विद्यार्थीले थप अध्ययन गर्न चाहेमा सरकारले तोकिदिएको विषयको उच्च शिक्षा, स्वास्थ्य सम्बन्धित विषय, इञ्जिनियरिङसम्बन्धी विषय, पशु विज्ञान, कृषि विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय